अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ प्रकरण :छानविनको रिपोर्ट दिन अर्थमन्त्रालयको निर्देशन

अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ प्रकरण :छानविनको रिपोर्ट दिन अर्थमन्त्रालयको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्रालयले अजोड इन्स्योरेन्सको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भएको विषयमा चांसो राखेको छ । अजोड इन्स्योरेन्सको गत चैत १६ गते बसेको सञ्चालक समितिको ८७ औं बैठकले चुक्ता पुंजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव साधारण सभामा पठाउने निर्णय गरेको थियो ।

तर, सञ्चालक समितिले उक्त प्रस्ताव गरेकोबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउनु अघि नै सेयर मूल्यमा ठूलो अंकको वृद्धि देखिएको थियो ।

कम्पनीको सेयर कारोबारमा अस्वाभाविक वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको थियो । त्यसपछि नेपाल धितोपत्र बोर्डले यसबारेमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो । तर, उक्त समितिले ५ महिनासम्म पनि प्रतिवेदन नबुझाएपछि अर्थमन्त्रालयले चांसो राखेको हो ।

यो प्रकरणपछि राष्ट्रिय बीमा समितिले अजोडको हकप्रद सेयर रोक्न निर्देशन दिइसकेको छ । पछिल्लो समय शेयर बजारमा ठुला खेलाडीहरुले इन्साइडर ट्रेडिङ गरिरहेको उजुरी परिरहेको छ । त्यसबारेमा छानविनको नाममा झारो टार्ने काम भइरहेको बेला अर्थमन्त्रालयले चांसो दिएको हो ।

मन्त्रालयका प्रवक्ता महेश आचार्यले अर्थ मन्त्रालयले उपसमितिले तयार पारेको प्रतिवेदनबारे जानकारी गराउन बोर्डलाई भनिएको बताए ।

सर्वोत्तम सिमेन्टको ओटिसी सेयर खरिद प्रकरणमा धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना र नेप्सेका सीइओ चन्द्रसिंह साउंद मुछिएपछि मन्त्रालयले एउटा अध्ययन समिति बनाएर इन्साइडर ट्रेडिङबारे बिस्तृतमा रुपमा अध्ययन नै गरिरहेको छ । नेप्सेका सिईओ साउंदले त विवादमा आएपछि राजीनामा दिएसकेका छन् ।

अर्थमन्त्रालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख पाराश्वर ढुंगानाको संयोजकत्वमा बनेको ५ सदस्यीय अध्ययन कार्यदलले इन्साइडर ट्रेडिङबारे अध्ययन गरिरहेको छ ।