अख्तियारद्वारा अदालतमा दुई सय ३५ मुद्दा दायर

अख्तियारद्वारा अदालतमा दुई सय ३५ मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको नौ महीनामा २३५ मुद्दा विशेष अदालतमा दायर गरेको छ । गत आवमा कूल १९४ मुद्दा दायर गरिएको थियो । आयोगले सो अवधिमा ९० स्टिङ अपरेशन गरी १२७ जनालाई कारवाहीको दायरामा ल्याएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

गत वर्षभरिमा १९ हजार ४८८ उजुरी आयोगमा रहेकामा चालू आवको नौ महीनामा मात्रै २० हजारभन्दा बढी उजुरी परेको छ । सेवा प्रवाहका क्रममा हुने भ्रष्टाचार नियन्त्रणका लागि आयोगले सक्रियता बढाएको र विश्लेषणमा आधारित अनुसन्धानमार्फत काम कारवाहीलाई प्रभावकारी बनाएको जनाएको छ ।

आयोगले २०७५ सालभरि गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै भनेको छ, ‘सार्वजनिक विकास निर्माणमा प्रभावकारिता ल्याउन निर्माण गुणस्तर परीक्षण प्रयोगशालाको सुदृढीकरण गरी पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ ।’

यस्तै भ्रष्टाचारविरुद्ध पूर्वक्रियाशीलता अभिवृद्धि गर्न सूक्ष्म निगरानी तथा द्रुत कारवाही टोली र सुराकी संयन्त्र गठन गरी भ्रष्टाचारजन्य कार्यमाथि सूक्ष्म निगरानी र कारवाही अगाडि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यस्तै सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयमा सेवाग्राहीका रुपमा नै प्रस्तुत भई सेवा प्रवाहको अनुगमन गर्ने कार्य शुरु गरेको, ठूला आयोजनामा भएका भ्रष्टाचारजन्य कार्य तथा सार्वजनिक पदाधिकारी माथिको अनुसन्धानलाई समेत कारवाहीको दायरामा ल्याइएको आयोगले जनाएको छ ।