७८ लाख घुस लिएका पाठकसँग अख्तियारले बयान लिने तयारी


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरको स्वामीत्व विवादमा घुस लिएको आरोप लागेका आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई बयानका लागि डाक्ने भएको छ ।

सो घुस प्र्रकरण सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका पाठकलाई आयोगका सहसचिव नेतृत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले बयानका लागि टंगालस्थित कार्यालयमै बोलाउने तयारी गरेको हो । पाठकमाथि उक्त कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको आरोप छ ।

इन्जिनियरिङ कलेज घुस प्रकरण अुनसन्धान टोलीमा सहसचिव, उपसचिव, र नेपाल प्रहरीका डिएपी छन् । पाठकले कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै बिचौलियामार्फत घुस लिएको पुष्टि भएपछि फागुन ३ गते आयुक्त पदबाट राजीनामा दिएका थिए ।

घुससम्बन्धि अडियो टेप सार्वजनिक भएपछि पाठकमाथि महाभियोग लगाउन सांसदबीच छलफल चलेकै अवस्थामा उनको राजीनामा आएको थियो । राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement