काठमाण्डु-माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षधर उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल क्रान्तिकारीको उद्घाटन शत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विद्यार्थी नेतालाई गुटबन्दी नगर्न निर्देशन दिए पनि गुटगत प्रतिस्पर्धा हुन लागेको हो ।
संस्थापन पक्षले बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोग लागेका दीपेश पुनलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाएको छ ।
संस्थापन पक्षबाट लुम्बिनीका पूर्वमुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमानले पनि अध्यक्षमा दाबी गरेका छन् । पुन र महरा दुवै रोल्पाका हुन् भने उपमहासचिव वर्षमान पुन निकट मानिन्नछन् ।
शर्मा पक्षबाट मदन भुल, क्षितिज सापकोटा, नारायण खनाल अध्यक्षका आकांक्षी छन् ।
निवर्तमान अध्यक्ष पञ्चा सिंहको नेतृत्वविरुद्ध समानान्तर समिति चलाएका पवन कार्कीले पनि अध्यक्षका आकांक्षी छन् । कार्की वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षधर हुन् । महासचिव देव गुरुङ र पम्फा भुसालनिकट रहेका नरेश रेग्मी पनि अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।
यस्तै अच्युत भट्ट, केशव रावल, जीपी मैनाली, इन्द्र भुसाल, प्रवीणा अधिकारी पनि अध्यक्षका आकांक्षी हुन् ।
अध्यक्षमा धेरै आकांक्षी देखिए पनि नेतृत्वका लागि मुख्यगरी संस्थापन र शर्मा पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
संस्थापन पक्षबाट महासचिवमा सुधीन पौडेल, सञ्जय कालधन, प्रशून कार्कीलगायत आकांक्षी देखिएका छन् भने शर्मा पक्षबाट हेमन्त राई, नारायण बडाल, रोशन थापा मगर, मदन लिम्बू, समीर पाण्डे आकांक्षी छन् ।
अखिल क्रान्तिकारीको २०७४ भदौमा भएको २२औं राष्ट्रिय सम्मेलनमा विवाद भएका कारण हलबाट नेतृत्व चयन हुन सकेको थिएन । त्यसपछि पार्टी अध्यक्ष दाहालले पञ्चा सिंहलाई अध्यक्ष घोषणा गरेका थिए ।
लामो विवादबीच दीपेश पुनलाई महासचिव बनाइएको थियो । २१औं राष्ट्रिय राष्ट्रिय सम्मेलनमा पनि वर्षमान पुन र जनार्दन शर्मा पक्षधरबीच प्रतिस्पर्धा भएको थियो ।
बिहीबारबाट सुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा २ हजार ३ सय प्रतिनिधि सहभागी छन् । केन्द्रीय समितिमा ३३ पदाधिकारी र २ सय ४३ केन्द्रीय सदस्य रहने व्यवस्था छ ।




प्रतिक्रिया