अखिल क्रान्तिकारीको स्थगित मतगणना आज पुनः हुँदै

अखिल क्रान्तिकारीको स्थगित मतगणना आज पुनः हुँदै


काठमाण्डु-माओवादी निकट अखिल क्रान्तिकारीको स्थगित मतगणना सोमबार पुनः सुरु हुने भएको छ ।

क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्जुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित गर्दै सोमबार दिउँसो १२ बजेबाट मतगणना पुनः सुरु गरिने जानकारी दिएका छन् ।

अखिल क्रान्तिकारीले २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत निर्वाचनबाट केन्द्रीय नेतृत्व चयन गर्न लागेको हो । ‘विशेष कारणबस स्थगित भएको मतगणना माघ १४ गते मध्यान्ह १२ बजेबाट सुचारु गरिनेछ,’ सूचनामा उल्लेख छ ।

विश्वविद्यालय र विशेष प्रदेश कमिटीमा खसेको मतपत्रको विषयमा विवाद भएपछि आइतबार बिहानदेखि मतगणना रोकिएको थियो ।

क्रान्तिकारीको अन्तिम परिणाम आउन अब दुईवटा प्रदेशमा खसेको ५ सय २२ मत गणना हुन बाँकी छ ।

काठमाडौंको बाल्मीकि विद्यापीठमा मतदान भएको दुईवटा प्रदेशको मतपत्रमा रातो मसी र निलो मसी प्रगोग भएको पाइएपछि मतगणनामा बसेका प्रतिनिधिले विरोध गरेका थिए । त्यसपछि मतगणना रोकिएको थियो ।

क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म देशका ७ प्रदेशको अन्तिम नतिजा आइसकेको छ, जसमा सापकोटाले ४५३ मत पाउँदा राईले ४३० मत पाएका छन् । यस्तै उपदेश यादवले १३८ मत पाएका छन् । क्रान्तिकारीको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो ।