काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को भ्रातृ विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेरहद लगाउने कि नलगाउने भन्ने टुंगो मतदानबाट गरिने भएको छ ।
नेतृत्व ३२ वर्षे उमेरहद लगाएर चयन गर्ने कि नलगाइ गर्ने भन्नेबारे १३ पुसमा मतदान गरेर टुंग्याइने पूर्वउपाधयक्ष मदन भुलले जानकारी दिए । पार्टीले उमेरहद लगाउने कि नलगाउने भन्ने निर्णय गर्ने अधिकार विद्यार्थीलाई दिएपछि यसबारे टुंगो लगाउन १३ पुसमा मतदान गर्न लागिएको हो ।
यसका लागि १३ पुसमा राष्ट्रिय सम्मेलनका लागि जिल्लाजिल्लाबाट चुनिएका प्रतिनिधिले जिल्ला–जिल्लामा मतदान गर्नेछन् ।
मतदानमार्फत उमेरहद लगाउने कि नलगाउने भन्ने विषय टुंगिएपछि मात्रै नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भुलले बताए । अव उमेरहदबारे र नेतृत्व चयनका लागि हुने मतदानमा भाग लिन विद्यार्थीहरू काठमाण्डौँ आउन पर्नेछैन । त्यसका लागि सात वटा भौगोलिक प्रदेश र दुई वटा गैरभौगोलिक प्रदेशमा निर्वाचन हुने क्रान्तिकारीले जनाएको छ ।
क्रान्तिकारीको गत १० देखि १५ असोजसम्म चलेको राष्ट्रिय सम्मेलन नेतृत्व चयनमा उमेरहद लगाएर गर्ने कि नलगाई गर्ने भन्ने विवादले स्थगित भएको थियो । त्यसबेला रोकिएको महाधिवेशन २३ र २४ मंसिरमा गर्ने मिति तोकिए पनि पछि फेरि स्थगित गरिएको थियो ।
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले पहिला ३२ वर्षे उमेरहद लगाउने कि नलगाउने जिल्ला जिल्लामा निर्वाचन गरिने जानकारी दिए । केन्द्रीय नेतृत्व चयन गर्न प्रदेश प्रदेशमा निर्वाचन गरिने उनको भनाइ छ ।
क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागेमा अहिलेका १ सय ९३ विद्यार्थी नेता बिदा हुनेछन् । अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, प्रविना अधिकारी, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतले दाबी गरिरहेका छन् । उनीहरू प्राय ३२ वर्षमाथिका छन् ।




प्रतिक्रिया