घुससहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा समातिए

घुससहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा समातिए


काठमाण्डु– त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत र नायब सुब्बासहित तीनजना कर्मचारी घुससहित समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाललाई घुस र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो ।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३५० रूपैयाँ बरामद भएको छ । साथै, उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ।

नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ बरामद भएको अख्तियारले जनाएको छ।

आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप रकमसहित कुल २ लाख ६८ हजार २८८ रूपैयाँ र २३ थान मोबाइल सेट बरामद गरेको जनाएको छ ।