बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सहसचिवसहित १३ जनाविरुद्ध पाँच करोड पाँच लाख ४२ हजारको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत रहेका बहालवाला सहसचिव टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार​, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थि, तत्कालीन नायब सुब्बाहरु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिवहरु नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदारहरु नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मुमगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिकका रविकुमार खत्रीविरुद्ध मुद्दा चलाएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्रीबितरण गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

नवलपरासी साविक सनई गाविस ८ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकोमा नक्कली जग्गाधनी खडा गरेको अख्तियारको दाबी छ ।

‘भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको गेरमी गाविसमै मृत्यु भएको भनी नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्र लगायतका गलत कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारी साविक मुलुकी ऐन अपुतालीको महलको १७ नम्बर तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २४८ बमोजिम नेपाल सरकारको नाममा आउनुपर्ने क्षेत्रफल ३२–२–१७.२५ बिघा जग्गाहरुसमेत भारतीय नागरिक पिएस मेहराको छोरा अनुप मेहरावाट बिक्री बितरण गराउने कार्यमा देहायका भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नवलपरासीका कर्मचारीहरु तथा स्थानिय निकायवाट सिफारिस दिने कर्मचारीहरु एवं स्थानीय व्यक्तिसमेत भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिमको भ्रष्टाचारजन्य कसुरमा संलग्न रहे भएको तथ्य प्रमाणित हुन आएकोले देहायका व्यक्तिहरुको हकमा देहाय वमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त जग्गाहरुमा कायम रहेको मोहियानी हक सुरक्षीत हुने गरी सरकारको नाममा कायम हुन मागदाबी लिई आज अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement