मुद्धा मिलाइदिने भन्दै घुस लिने प्रहरी निरीक्षक र अधिवक्ताविरुद्ध भ्रष्टाचार मुद्धा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र अधिवक्ता हिमालय बिक्रम विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारमा कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै रकम लिइरहेको अवस्थामा घुससहित पक्राउ परेका थिए ।

आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई ५० हजार सहित पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको सार्वजनिक हितविपरीतको र जवर्जस्ती करणीको मुद्दामा सहजीकरणको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कार्कीले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्व घुस लिएका थिए ।

अधिवक्ता विष्टलाई सेवाग्राहीसँग रकमको बार्गेनिङ गर्न लगाई घुस दिन बाध्य पारी रकम लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरु दुुवैलाई अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो तथा जरिवाना गर्न माग गरिएको छ ।

साथै, हिमालय बिक्रम विष्टले सेवाग्राहीको मुद्दाको सहजीकरण गर्न जवर्जस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरीलाई रकम दिएको पुष्टि भएकाले उक्त रकम असुल गर्नुपर्ने दाबी आरोपपत्रमा उल्लेख छ । अख्तियारले कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा उनलाई बिगो पचास हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय गर्दै मुद्धा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement