आर्थिक अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई जना एसएसपीमाथि अख्तियारको छानबिन


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)माथि छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

अख्तियारले आर्थिक हिनामिना गरेको आरोपमा एसएसपीद्वय प्रहरी हेड्क्वार्टर नक्सालमा कार्यरत पुजा सिंह र महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख किरण बज्राचार्यमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हाे । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले उनीहरुमाथि विभिन्न विषयमा उजुरी परेकाले छानबिन जारी रहेको बताए ।

‘कार्यक्षेत्रमा छँदा ढल सफा गरेकोलगायतका शीर्षकमा मिलाएर पैसा खाएको उजुरी परेको छ । अरु विस्तृत छानबिन हुँदैछ’, उनले काठमाण्डुपाटीसँग भने ।

उनीमाथि २०७१ भदौदेखि ०७२ असोज सम्म काभ्रेको इञ्चार्ज हुँदा सरुवा भएर जाने कर्मचारीले पाउने टिएडिए नदिई आफैंले पैसा खाएको भन्दै उजुरी परेको छ ।

एसएसपी सिंह जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी हुँदा त्यहाँको इञ्चार्ज थिइन् । उनले लेखापालसँग मिलेर कागजपत्र मिलाएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जानकारी दियो ।

त्यस्तै एसएसपी बज्राचार्यले भक्तपुरको इञ्चार्ज हुँदा बेवारिसे शव व्यवस्थापनका लागि निकासा भएको रकम हिनामिना गरेको भन्दै उजुरी परेको छ । बज्राचार्य ०७२ असोज देखि ०७३ मंसिर सम्म भक्तपुर जिल्लाको इन्चार्ज थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement