उपराष्ट्रपति यादवसँग भेट गरे यूएईका राजदूत अल-शाम्सीले

उपराष्ट्रपति यादवसँग भेट गरे यूएईका राजदूत अल-शाम्सीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपराष्ट्रपति रामसहायप्रसाद यादवले ठूलो संख्यामा नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा संयुक्त अरब इमिरेट्स (यूएई) सरकारप्रति आभार प्रकट गरेका छन्।

उपराष्ट्रपति कार्यालय लैनचौरमा आज (मंगलवार) नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल-शाम्सीसँगको भेटमा उनले यूएईले स्वास्थ्य, शिक्षा, अन्तरिक्ष प्रविधि, ऊर्जा, कृत्रिम बौद्धिकता र नवप्रवर्तनलगायत क्षेत्रमा हासिल गरेको प्रगतिका लागि बधाई दिए।

‘नेपालले यूएईको मानव संशाधनको आवश्यकता पूर्तिमा योगदान पुर्‍याउँदै आएको छ,’ भेटमा उपराष्ट्रपति यादवले भने, ‘पछिल्लो समय दुई मुलुकबीच समन्वय र सहकार्यको क्षेत्र फराकिलो भएको छ।’

नेपालमा भव्य प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव, आतिथ्य र विविध साहसिक पर्यटनका अवसर रहेको उल्लेख गर्दै उनले व्यस्त आधुनिक शहरी जीवनभन्दा फरक ढङ्गले बिदा मनाउन इमिराती पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।

सो अवसरमा राजदूत अल-शाम्सीले नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पछिको पुनःनिर्माणमा आफ्नो मुलुकले सहयोग गर्न चाहेको बताए।

‘यूएई नेपालसँगको आपसी साझेदारीलाई थप बलियो बनाउन चाहन्छ,’ उनले भने, ‘आगामी कोप–२८ सम्मेलनमा नेपाल आफ्नो बलियो तयारीका साथ प्रस्तुत हुनेमा म विश्वस्त छु।’

राजदूत अल-शाम्सीले दुई मुलुकबीच उच्चस्तरीय भ्रमणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै आफूले बढीभन्दा बढी इमाराती पर्यटकलाई नेपाल भित्र्याउन प्रयास गर्ने बताएका थिए।