‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्य मङ्सिर, बढ्दो चिसो । काठमाण्डु क्रमशः सेलाउँदै गएको छ । जाडो बढ्दै गएको छ । यस्तै ठिहिरो दिन थियो २२ मङ्सिर २०६५ । त्यो दिन नेपाली साहित्यका एक जोडीले नयाँ जीवनको सहयात्राको कसम खाएका थिए ।

कवि, गजलकारद्वय राधा कणेल र घनेन्द्र ओझाले सोही दिन विवाह गरेका थिए । विवाहकै दिन साहित्यिक सहयात्राको चिनो गजलसङ्ग्रह ‘बाटो अझै छ बाँकी’ संयुक्त रूपमा प्रकाशन गरेका थिए । विवाहलाई नै कृति प्रकाशनबाट सिर्जनशील बनाएको यो जोडीले विवाहको १८औँ वर्षगाँठ पारेर ‘नसोधी’ गजल एल्बम ल्याएको छ ।

विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको एकल सङ्गीत र स्वर रहेको एल्बममा राधाका २ र घनेन्द्रका ३ वटा गजल छन् ।

एल्बमका प्रस्तुतकर्ता अहिले चर्चित र लोकप्रिय रहेको उपन्यास ‘नीलो प्रेम’का लेखक पुरुषोत्तम बजगाईं हुन् ।

सोमबार काठमाण्डुमा आयोजित एल्बम लोकार्पण कार्यक्रममा कवि एवं समालोचक प्रा.डा. देवी नेपालले राधा र घनेन्द्रलाई स्रष्टाका रूपमा धेरै अगाडिदेखि चिनेको र उनीहरूको सिर्जनशील सहकार्य जीवनको पनि सहकार्यमा परिणत भएको भन्दै खुसी व्यक्त गरे ।

नेपालले सिर्जनामा दुवै स्रष्टा सशक्त रहेका र साङ्गीतिक सहकार्यमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठ जोडिएपछि नेपाली गजल गायनले समेत तीव्रता लिएको बताए ।

गजलकार तथा आख्यानकार तथा नेपाल सरकारका पूर्वमुख्य सचिव एवं क्यानडाका लागि पहिलो नेपाली राजदूत डा. भोजराज घिमिरेले राधा, घनेन्द्र र सन्तोषले कसैलाई नसोधी नै सिर्जनशील कामहरू गरिरहेका भन्दै प्रशंसा गरे । नेपाली गजल लेखन र गायन दुवैमा परिष्कारतर्फ बढेको र केही समयमा सुन्दर र सशक्त गजलहरू गायनमा आउने विश्वास व्यक्त गरे ।

सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले घनेन्द्र ओझा र आफू ‘नेपाली गजल गायनको स्वर्ण दशक, विसं २०८०–२०९०’ अभियानमा रहेका र सो अभियानअन्तर्गत देशभर दर्जनभन्दा बढी प्रत्यक्ष गजल गायनका कार्यक्रम भइसकेका भन्दै ‘नसोधी’ एल्बम यस अभियानको पहिलो एल्बम भएको सुनाए । उनले अभियानमा सबै गजलप्रेमी, सङ्गीतप्रेमीलाई जोडिन अनुरोध पनि गरे ।

गजलकार राधा कणेलले पछिल्लो समय गजल सङ्गीतमा देखिएको सन्तोष श्रेष्ठको लगाव र सक्रियताले नेपाली गजलले उचाइ लिने बताइन् ।

गजलकार ओझाले विसं २०८०–२०९० लाई नेपाली गजल गायनको साँच्चै स्वर्ण दशक बनाउन लागिपरेको सुनाए । यसै मेसोमा राजधानी र प्रदेशहरूमा समेत गायनका कार्यक्रम गरिरहेको बताए ।

उनले केही महिनामै राधा कणेल, रश्मि असफल र आफ्ना गजल रहेको दार्जिलिङका सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा ‘मतला’ एल्बम ल्याइने पनि बताए । प्रभाती किरणले स्वागत गरेको कार्यक्रमको सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।