काठमाण्डु – सर्वदलीय बैठकले लामो समयदेखि निरन्तर अवरुद्ध संसद खुलाउन पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले एमालेले निरन्तर अवरोध गर्दै आइरहेको संसदलाई सुचारु गर्न पहल गर्ने निर्णय गरेको हो ।
बैठकबारे जानकारी गराउँदै सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति बनेको बताए । ‘आज कुनै निष्कर्षमा पुगैनौं । तर, संसद सुचारु गर्न गम्भीर पहल गर्ने सहमति भएको छ, उनले भने ।
सभामुख सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसीबारे पनि कुनै टुंगोमा नपुगिएको बताए । उनले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिए ।
‘एमसीसीबारे थप कार्यव्यवस्थामा छलफल गर्ने सहमति भएको छ । अहिले एमसीसी टेबुल हुने नहुनेबारे टुंगो भएको छैन् । यो छलफलकै क्रममा छ । उहाँहरुले एमसीसीबारे आआफ्नो धारणा राख्नु भएको छ । म खुल्ला छु । मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु,’ उनले भने ।
सदन सुचारु हुनुपर्छ भन्ने मात्रै आफ्नो राय रहेको र एमसीसीबारे दलहरु नै निर्णायक हुने सापकोटाको भनाइ छ । ‘सभामुखको हैसियतले मैले निस्पक्षरुपमा भूमिका निभानुपर्छ भन्नेमा म सचेत छु । मैले विशेष रुपमा जोड दिएको कुरा सदन सुचारु हुनुपर्छ भन्ने हो । यसमा निर्णायक भूमिका दलकै हुन्छ,’ उनले थपे । साथै उनले संसद खुलाउन प्रतिपक्ष जिम्मेवार नभएको समेत आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक लामो समयदेखि बहिस्कार गर्दै आइरहेको छ ।




प्रतिक्रिया