काठमाण्डु – कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । यो भनाइबाट सरकारले महामारी नियन्त्रणमा हात उठाएको प्रष्ट बुझ्न सकिन्छ । भारतमा कोरोनाको महामारी चलिरहदा नेपाल सम्भावित जोखीममा रहेको भएपनी चुस्त रुपमा पुर्वाधार विकास नगरेर राजनितिक जोडघटाउमा लिप्त भएको जनमानसको बुझाई छ ।
महामारी आउने सबैलाई थाहा थियो तर सरकार भने सत्ता जोगाउने खेल भन्दा अन्य कुनै काममा नलागेको प्रष्ट भएको छ । स्वाथ्यका मापदण्ड प्रधान्मन्त्रीले नै उल्लंगन गरेर भिड बटुलेको हामीले नदेखेको होइन । जव नागरीकलाई सरकारको आवश्यकता महसुस भयो अनि सरकारले केहीगर्न सक्दिन भनेर उम्कन खोज्नुले जनताप्रति कत्तिको उत्तरदायी छ भनेर बुझ्न जोकोहीलाई पनि असहज नहोला ।
सरकारको अभिव्यक्तिपछि अन्य राजनीतिकदलहरुले विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ?’ यता विवेकशील साझा पार्टीको पनि सरकारको अभिब्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका प्रवक्ता शरदराज पाठकले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि सरकारलाई ६ बुँदे सुझाव दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ’कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो।’कोरोना महामारीको पहिलो चरण सुरु भएको एक वर्षभन्दा बढीको यो अवधिमा संक्रमण बढ्दा सामना गर्न सक्ने प्रणाली विकासका लागि पर्याप्त तयारीको अवसर भए पनि सरकारले त्यसमा ध्यान नदिएको विज्ञप्तिमा उल्लेख छ ।
यता नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी गम्भीर लापरबाही गरेको उनको भनाइ छ । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाए । ‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन ।
यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ ।’ नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए । यी त प्रतिनिधिमात्र हुन सरकारको अभिब्यक्तिले आम सर्वसाधरणहरुमा अभिभाववीहीन महसुस भएको छ ।
यस्तो अफ्ट्यारो घडीमा सरकारले दिएको जवाफले आगामी दिनमा जनताको घरआगनमा के मुख लिएर जालान भन्ने चर्च हुन थालेको छ । सरकारले जे गरेपनि महामारी नियन्त्रणकालागि सर्वसाधरणाको भुमिका मुख्य हुने जनस्वाथ्यविदहरुले बताएका छन् । स्वाथ्यका मापदण्डको पालना गर्न उनिहरुको आग्रह छ ।




प्रतिक्रिया