एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह

एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह


काठमाण्डु – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठकमा पार्टीभित्र वित्तीय अनुशासन कायम गर्दै आर्थिक पारदर्शिता कायम गराउन जोड दिइएको छ ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यता र आयोगका अध्यक्ष डा पुष्प कँडेलको अध्यक्षतामा सम्पन्न बैठकमा नयाँ पदाधिकारीलाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाबाट प्रमाणपत्र वितरण गरिनाका साथै पार्टीका उपमहासचिव एवं केन्द्रीय आर्थिक तथा लेखा व्यवस्थापन विभाग प्रमुख विष्णु रिमालसँग अन्तरक्रिया गरिएको थियो । उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए ।

बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ । बैठकले विगत लामो समयदेखिको पार्टी कमिटीको आर्थिक हरहिसाबको लेखाचुस्त दुरुस्त हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै २०७८ चैत्र महिना भित्रमा जिल्ला कमिटी र सो भन्दामाथिका सबै पार्टी कमिटी तथा जनसङगठनको आव २०७७÷०७८ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने निर्णय गरेको हुँदा सो का लागि आवश्यक तयारी गर्न सबै पार्टी कमिटीलाई निर्देशन दिएको आयोगका सचिव शिव अधिकारीले जानकारी दिए ।