काठमाण्डु – नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ ।
माधव कुमार नेपाल समूहको माग अनुसार आज बसेको स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको हो ।
हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने निर्णय गरेपनि भोलीका लागि बोलाइएको महाधिवेसन आयोजक कमिटी बैठक भने नरोकिने पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।
साथै उनले एमालेले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको जानकारी दिए ।
गत २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा उठिरहेको छ ।
वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।
पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँताएयता खनाल र नेपाल तथा गौतम समूह कुनै पनि बैठकमा सहभागी भएको छैन ।
त्यसयता ओली समूहको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । उता खनाल नेपाल समूह पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोहीअनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ ।




प्रतिक्रिया