काठमाण्डु – नेकपा एमाले संसदीय दलको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध छापामार शैलीमा महाअभियोथग प्रस्ताव दर्ता गराएपछि एमालेले आकस्मिक रुपमा संसदीय दलको बैठक बसेको हो ।
केहि बेरअघि सुरु भएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल भइरहेको छ ।
सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट स्वत निलम्बित भएका छन् । उनी हिजो नै अदालतबाट बाहिरिसकेका छन् ।
त्यसलगत्तै आइतबार साँझ आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार जबराविरुद्धको महाअभियोग प्रस्तावको काउन्टर दिन एमालेले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया