काठमाण्डु – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकामा पनि अप्रत्यासित हार व्यहोरेको छ । ०७४ को निर्वाचनमा ११ मध्ये ७ वटा उपमहानगर जितेको एमाले योपटक भने अप्रत्यासित हार बेहोर्नुपरेको छ ।
अघिल्लो निर्वाचनमा एमालेले इटहरी, धरान, हेटौंडा, जीतपुर सिमरा, बुटवल, तुल्सीपुर र घोराही उपमहानगर जितेको थियो । तर यो पटक ११ उपमहानगरमध्ये ८ वटाको नतिजा आउँदा एमालेले दुई वटा मात्र उपमहानगर प्रमुख जितेको छ ।
यसपटक एमालेले घोराही र कलैया मात्रै जितेको छ । अघिल्लो निर्वाचनमा कलैया नेपाली कांग्रेसले जितेको थियो । यसपटक भने कांग्रेसबाट एमालेले खोसेको हो ।
घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी मेयरमा निर्वाचित भएका छन् । चौधरीले ३१ हजार ७ सय २८ मत ल्याउदा माओवादीका हेमराज शर्मा पोख्रेलले २६ हजार ३ सय ६८ मत ल्याए भने राप्रपाकी सरिता देवकोटा ५ हजार ३ सय २४ मत ल्याइन् ।
त्यस्तै उपप्रमुखतर्फ पनि एमालेका हुमाकुमारी डीसी सवजयी भइन् । उनले ३० हजार ४ सय ३ मत ल्याएर उपप्रमुख जितेकी छन् । कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री ३० हजार ३ सय ५४ मत ल्याएर पराजित भए ।
यता कलैया उपमहानगरमा एमालेका विनोदप्रसाद साह विजयी भएका छन् उनले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै २४ हजार १ सय ७४ मत ल्याएर मेयर जितेका हुन् । कांग्रेसका राजेश राय यादवको १८ हजार ५ सय ४० मत रह्यो भने लोकतान्त्रिक समाजवादी पार्टीका प्रकाश साह तेलीले ९ सय १० मत ल्याए ।
उपमेयरमा एमालेकै उम्मेदवार रौसन प्रविनले जित हात पारिन । उनले १९ हजार २५१ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०२ मत पाएर पराजित भए ।
सत्ता गठबन्धनका दलले ११ वटै उपमहानगरमा भागबन्डा गरी तालमेल गरेका थिए । अधिकांश ठाउँमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनाव जितिरहेको छ ।
यसो त धनगढीमा गोपाल हमालको जितसँगै धरान र जनकपुरमा गठबन्धनका लागि स्वतन्त्र उम्मेदवार तगारो बनेका छन् । यता गठबन्धन र स्वतन्त्र मेयर जितेको ठाउँमा उपप्रमुखमा भने एमालेका उम्मेदवारलाई नै फाइदा मिलेको छ । ११ उपमहानगरमध्ये ८ वटाको नतिजा आउँदा ६ ठाउँमा उपप्रमुखमा एमालेले जित निकालेको छ ।
चुनावको प्रारम्भीक परिणाम आएलगतै विज्ञप्ति जारी गरेर आफ्नो धारणा सार्वजनिक गरेको एमालेले सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।
एमाले अधिकांश उपमहानगरमा पराजित हुनुको कारणबारे पार्टीमा गम्भिर छलफल हुने एमालेकी सचिप पद्मा अर्यालले बताइन् । उनले भनिन्, ‘एमालेका उम्मेदवार प्रमुखमा पराजित हुने र उपप्रमुख मात्रै निर्वाचित हुने कारणबारे विस्तृत छलफल गर्छौ ।’
कति पालिका प्रमुख जित्यो ?
एमालेले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो ।
निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।
नेपाली कांग्रेसपछि एमालेले पालिकाको सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेको छ । कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, जुन एमालेकोभन्दा १२१ ले बढी हो ।
आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।




प्रतिक्रिया