काठमाण्डु – नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ । आज दिनभरी बसेको एमाले कार्यदलको बैठकमा संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको हो ।
आइतबार झण्डै १३ घण्टा बसेको लामो बैठकपछि जुटेको सहमितबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कार्यदलका सदस्य भीम रावलले बैठकमा १० बुँदे सहमति भएको जानकारी दिए । उनले कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको बताए । नेता रावलले उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने बताए ।
सहमतिको पहिलो बुँदामा पार्टीभित्रका अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएको उल्लेख गरिएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशिल हुने भनिएको छ ।
सहमतिसँगै २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।





प्रतिक्रिया