काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । शक्रबार सौराहामा मध्यराती बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको सचिव याेगेश भट्टराईले जानकारी दिए ।
हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठकमा ओलीले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने प्रस्ताव गरेका थिए । विधान महाधिवेशनले पारित गरेको विधानमा केन्द्रीय सदस्यको संख्या २२५ रहने उल्लेख थियो । त्यस्तै विधान बाट हटाइएको पोलिटब्युरोलाई ब्युँताएर ९९ सदस्यीय बनाउने ओलीले प्रस्ताव गरेका थिए ।
बैठकमा ओलीले पदाधिकारीको सङ्ख्या थप गर्ने प्रस्ताव पनि गरेका थिए । अध्यक्ष ओलीको प्रस्ताव अनुसार पदाधिकारीको सङ्ख्या १५ बाट थपेर १९ पु¥याउने भनिएको छ । यसमा उपाध्यक्ष र उपमहासचिवमा २–२ जना थप्ने भनिएको छ । नयाँ प्रस्तावअनुसार उपाध्यक्ष र उपमहासचिवको सङ्ख्या ७ र ३ पुग्नेछ । नयाँ विधानअनुसार एमालेमा ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था थियो । स्थायी समिति भने ४५ सदस्यीय यथावत राखिएको छ । यता आयोगहरू २५ सदस्यीय र प्रदेश र जिल्लाको आधार संख्या ७५ बनाउने प्रस्ताव गरिएको थियो ।





प्रतिक्रिया