काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मतपरिणाम अनुसार नेकपा एमालेले दुई उपमहानगरपालिकासहित हालसम्म २ सय स्थानीय तह जितेको छ ।
एमालेले ०७४ को निर्वाचनमा दुई महानगरपालिका र ७ उपमहानगरपालिका सहित १२३ नगरपालिकाको प्रमुख, १७१ गाउँपालिकाको अध्यक्षसहित २ सय ९४ स्थानीय तहको प्रमुख जितेर पहिलो दल बनेको थियो । तर पाँच वर्ष पछि भएको निर्वाचनमा भने साेमबार १२ बजेसम्म ८९ तह गुमाएर दोस्रो दलमा खुम्चिन पुगेको छ ।
०७४ मा काठमाण्डु महानगरपालिका र पोखरा महानगरपालिकामा एमाले विजयी भएको थियो । तर यसपटक महानगरमा एमाले निल हुने देखिएको छ । मतगणना जारी रहेका ६ वटै महानगरमा एमालेका उम्मेदवार प्रतिस्पर्धी भन्दा निकै पछाडी देखिएका छन् । यसअर्थमा एमालेले महानगरमा आफ्नो पकड गुमाउने देखिएको छ ।
देशभरका ११ उपमहानगरपालिकामा समेत एमालेले यसपटक धक्का व्यहोरेको छ । ०७४ सालको निर्वाचनमा एमालेले धरान, इटहरी, जितपुर सिमरा, हेटौंडा, तुलसीपुर, घोराही र बुटवल उपमहानगर गरी सात उपमहानगरमा जित निकालेको थियो । भलै धरानका मेयर तारासुब्बाको निधन पछि भएको निर्वाचनमा एमालेले धरान गुमाएको थियो ।
यसपटक भने एमाले २ उपमहानगरमा मात्रै सिमित हुने देखिएको छ । यद्यपि एक उपमहानगरमा कांग्रेस एमालेका उम्मेदवारबीच कडा टक्कर चलिरहेको छ । एमालेले यसपटक घोराही उपमहानगर जोगाएको छ भने कलैया उपमहानगर थपेको छ । जितपुर सिमरा र हेटौंडा, इटहरी, बुटवल एमालेले गुमाइसकेको छ भने तुलसीपुरमा मतगणना जारी छ । यहाँ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेले फराकिलो अग्रता बनाएको छ । अघिल्लो निर्वाचनमा वर्चस्व जमाएको एमालेले काठमाण्डु र पोखरा महानगरपालिका गुमाएको छ । यद्यपि अन्तिम मतपरिणाम आउन बाँकी छ । तर एमालेले ती दुबै महानगर गुमाउने पक्कापक्की जस्तै छ ।
मकवानपुरको हेटौडा, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल, धनकुटाको धरान र बाराको जितपुरसिमरा गरी ५ उपमहानगर पनि यसपटक एमालेले गुमाएको छ । पाँच वर्षअघि १९४ गाउँपालिकाको उपाध्यक्ष समेत गरेर एमालेले ३३१ ठाउँमा उपप्रमुख–उपाध्यक्ष जितेको थियो ।
यसैगरी ०७४ मा २५६० वडाध्यक्ष जितेको एमालेले २७ सय ७६ महिला सदस्य, २६ सय ० दलित महिला सदस्य र ५४ सय ५ खुला वडा सदस्य सहित १४ हजार ९८ पद जितेर झण्डै ४१ प्रतिशत स्थानीय तह कब्जा गरेको थियो । तर योपटक भने एमालेले अप्रत्यासित हार व्यहोरेको छ ।




प्रतिक्रिया