काठमाण्डु – नेकपा एमालेको महाधिवेशन खर्च अनुमान गरिएको भन्दा डेढ करोड रुपैयाँ बढेको छ । नेकपा एमालेले साढे सात करोडमा महाधिवेशन सक्ने योजना थियो । तर, निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले सहमतिमै नेतृत्व चयन हुने अनुमानअनुसार दुई दिनका लागि महाधिवेशन तय गरेको थियो । तर चुनाव नै हुने भएपछि महाधिवेशन चार दिन लम्बिएको हो ।
महाधिवेशनको बन्दसत्र हलले अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी घोषणा गर्ने अधिकार दिएको थियो । तर ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यप्रति केही नेताले असन्तुष्टि जनाएपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साँढे १० बजे सकिएको भएको छ । करिब २२ सय प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका छन् ।
चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । आचार्य यसअघि पनि सचिव थिए ।
वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भइसकेका छन् ।




प्रतिक्रिया