काठमाण्डु – नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले उत्तरी छिमेकी मुलुक चिनतर्फ दौडधुप बढाएका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले टोली चीन गएको पाँच दिनपछि माओवादी केन्द्रका नेता देव गुरुङको टोली शुक्रबार चीनतर्फ प्रस्थान गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेता गुरुङ चीन गएको उनकी श्रीमती तथा सांसद यशोदा सुवेदी गुरुङले जानकारी दिइन् । ‘एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ चीन जानु भएको हो, सोमबार फर्कने भन्नुभएको छ,’ उनले भनिन् । आफू पोखरामा रहेकाले अन्तर्राष्ट्रिय सम्मेलनबारे थप जानकारी नभएको सुवेदीले बताइन् ।
शुक्रबार बिहान ९ बजे गुरुङका साथमा माओवादी नेताहरू वर्षमान पुन र ओनसरी घर्तीमगर समेत चीन प्रस्थान गरेका छन् । ‘जन्डिसको बिरामी उपचारको फलोअपका लागि उहाँहरू जानुभएको हो, सम्भवतः आइतबार÷सोमबार फर्कनु हुन्छ,’ पुनका स्वकिय सचिव सन्तोष पुनले भने ।
एमाले उपाध्यक्ष पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र प्रदेश सांसद मीना रखाल चीनमा छन् । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिकको अपरेसन एन्ड कल्चरल एक्सचेन्ज’ मा भाग लिन एमाले टोली चीन पुगेको हो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेर स्थानीय तहको चुनावमा जान सक्ने संकेत गरेलगत्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न विकल्प खुल्ला गरेको छ । तर दुबै दलका नेताहरुले भने चुनावमा एक्लै लड्नुपर्ने धारणा राख्दै आइरहेका छन् ।
वाम गठबन्धनको चर्चा परिचर्चा चलिरहेका बेला एमाले र माओवादी केन्द्रका ७ नेताहरू एकैपटक उत्तरी छिमेकी मुलुक चीनतर्फ प्रस्थान गर्नुलाई महत्वका साथ हेरिएको छ ।




प्रतिक्रिया