एमालेले भन्यो- स्थानीय निर्वाचनमा धोका र अलमल स्वीकार्य हुंदैन


काठमाण्डु – नेकपा एमालेले स्थानीय तहको निर्वाचनसम्बन्धमा कुनै पनि अलमल, धोका स्वीकार्य नहुने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन पर धकेल्न नहुँने भन्दै निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने बताएका हुन् ।

यद्यपि जुनसुकै बेला निर्वाचन भए पनि सामना गर्न तयार रहेको उनले बताएका छन् । ‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन,’ उनले भनेका छन् ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए पनि सत्ता गठबन्धनबीच आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारे बहस हुँदै आएको छ ।

सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेको बेला एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत् पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । त्यस्तै उनले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएका छन् ।

कोरोनाको नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको भन्दै अध्यक्ष ओलीले २४ लाखभन्दा बढी खोप कहाँ गयो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

‘सरकारी अधिकारीहरुले नै खोप हरायो भनेर स्वीकार गर्नुभएको । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?,’ उनले प्रश्न गर्दै भने ।

अहिले पनि हजारौं नागरिक अझै खोपबाट बञ्चित रहेको भन्दै उनले अघि भनेका छन्, ‘अरु त अरु खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समते उपलब्ध गराउन नसक्नुले सरकार कति गैर जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ ।’

 त्यस्तै अध्यक्ष ओलीले सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद भएको बताएका छन् । अघिल्लो सरकारले व्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापना, भण्डारणमा समेत सरकार असक्षम भएको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, तुलनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रमा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ ।’

सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेपछि हालसम्म ४० प्रतिशतले मात्र लगाएको एमालेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement