गठबन्धनलाई एमालेको ‘काउन्टर’ : चार न्यायाधीशविरुद्ध महाअधियोग ल्याउने तयारी

गठबन्धनलाई एमालेको ‘काउन्टर’ : चार न्यायाधीशविरुद्ध महाअधियोग ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ ।

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको हो । त्यसका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री बनाउने चार वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारीमा एमाले लागेको स्रोतले बतायो ।

उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको बुझिएको छ । एमालेले स्थानिय निर्वाचनको तयारीका लागि सातै प्रदेश पुगेका सबै सांसदलाई काठमाण्डु बोलाइसकेको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महाअभियोग प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नरहेको र अचानक दर्ता भएपछि मात्र जानकारी भएकाले भाेलि दलकाे बैठकमा छलफल गरिने बताए ।

प्रधानन्यायाधीश जबराविरुद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएपछि त्यसलाई काउन्टर दिन चार न्यायाधीशविरुद्ध महाअभियोग ल्याउन लागिएको हो । जबकि संसदमा पाँच दलको गठबन्धन बहुमतमा भए पनि दुई तिहाइ बहुमत छैन । एमालेसँग पनि दुई तिहाइ बहुमत पुग्ने अवस्था नै छैन ।