काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सभामुख सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न आज दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् ।
तर नेकपा एमालेले सरकारले एकलौटी निर्णय गरेको भन्दै बैठकमा सहभागी नहुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए । उनले सभामुखको भूमिका, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत कारण देखाउँदै सर्वदलीय बैठकमा नजाने निर्णय भएको भएको बताए ।
उनले भने, ‘न्यायालयमाथि यति गम्भीर निर्णय गर्दा पनि प्रमुख प्रतिपक्षीसँग कुनै सल्लाह छैन । सभामुख ज्यूको त कुरै नगरौं । यस्तो अवस्थामा हामी सर्वदलीय बैठकमा बस्न सक्दैनौं ।’ प्रधानन्यायाधीशविरुद्ध दर्ता गरिएको महाअभियोगलाई एमालेले सरकारको एकलौटी निर्णय भन्दै उक्त निर्णयको प्रतिवाद गर्ने बताएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।




प्रतिक्रिया