काठमाण्डु – नेकपा एमालेले कार्य व्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्ने भएको छ । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख अग्निसापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक एमालेले बहिस्कार गर्ने निर्णय गरेको हो ।
संसद बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका छन् । त्यसको कार्यसूचीबारे छलफल गर्न सभामुखले अहिले बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । तर त्यसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
त्यस्तै उनले दिउँसो बस्ने संसद बैठकमा समेत अवरोध जारी राख्ने बताए । पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सांसद पदबाट हटाएको सूचना टाँस नगरेपछि एमाले रुष्ट छ । भदौदेखि उसले सभामुख सापकोटाको राजीनामा माग गर्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आइरहेको छ ।




प्रतिक्रिया