गण्डकी र लुम्बिनीका सांसदलाई स्थानीय निर्वाचनमा उम्मेदवार नबनाउने एमालेको निर्णय


काठमाण्डु – नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने निर्णय गरेकाे छ । बिहीबार बसेको सचिवालय बैठकले सरकार परिवर्तनको सम्भावनालाई मध्यनजर गर्दै ती प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको हो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकी र लुम्बिनी प्रदेशका हकमा अझै पनि सरकार परिवर्तन हुनसक्ने भएकाले त्यहाँका सांसदहरुलाई निर्वाचनको उम्मेदवार नबनाउने निर्णय गरिएको जानकारी दिए ।

‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावना रहेको छ । त्यसैले गण्डकी प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवारका रुपमा अघि सार्दैनौ । लुम्बिनी लगायत सम्भावना भएका स्थानमा पनि त्यो निर्णय गर्नसक्छौ’, गुरुङले भने ।

एमालेले पोखरा महानगरपालिकाले मेयरमा सिफारिस गरेका १२ जनामध्ये दुई जना प्रदेशसभा सदस्य छन् । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम पनि छ । एमालेको यो निर्णयसँगै थापा र पहारीले मेयरको उम्मेदवार हुन नपाउने भएका छन् ।

साथै एमालेले महानगर र उपमहानगरपालिकाहरुमा सहमति गरेका राप्रपा नेपाल, परिवार दलबाहेक माओवादी केन्द्र र काँग्रेससँग पनि स्थानीय तहमा गठबन्धन गर्न सक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement