काठमाण्डुको मेयरमा केशव स्थापित र ललितपुरमा हरिकृष्णलाई एमालेको टिकट

काठमाण्डुको मेयरमा केशव स्थापित र ललितपुरमा हरिकृष्णलाई एमालेको टिकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले काठमाण्डु महानगरपालिकाको प्रमुखमा केशव स्थापित र ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकारलाई टिकट दिने तयारी गरेको छ ।

बिहीबार बसेको एमाले सचिवालय बैठकमा काठमाण्डुको स्थापित र ललितपुर प्रमुखको व्यञ्जनकारलाई टिकट दिने सहमति भएको हो । तर, यसबारे औपचारिक निर्णय भने शनिबार बस्ने सचिवालय बैठकले गर्ने एक नेताले बताए ।

यसअघि २०५४ सालमै काठमाण्डु महानगरको बागडोर सम्हालिसकेका स्थापितलाई यो पटक एमालेले पाँच दलीय सत्ता गठबन्धनको चुनौती चिर्नेगरी महानगर प्रमुखको टिकट दिने तयारी गरेको हो । ललितपुरका व्यञ्जनकारलाई महानगर कमिटीले सर्वसम्मत सिफारिस गरेको हो ।

ललितपुर महानगरबासीमाझ राम्रो सार्वजनिक पहिचान भएका व्यन्जकार २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट ललितपुर महानगरको मेयरबाट उठेका थिए । ब्यन्जनकार नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्दी चिरीबाबु महर्जनसँग ३ सय २६ मतको झिनो अन्तरले हारेका थिए ।

पछिल्ला दिन स्थापितले आफूले मेयरको टिकट पाउनु पर्ने दाबीसहित विभिन्न शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् । २ वैशाखमा नगर कमिटीले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । जसमा हालका मेयर विद्यासुन्दर शाक्य, सांसद रामवीर मानन्धर, स्थापित, निर्मल र इन्दिरा पन्तको नाम सिफारिस गरेको थियो ।

केही दिनअघिसम्म नेकपा एमालेले शाक्यलाई नै मेयर पदमा दोहोर्याउने तयारी गरेको थियो । तर, पछिल्लो समय शाक्यको आलोचना चुलिएपछि उनलाई पुन मेयरको टिकट नदिने भएको स्रोतले बतायो ।

०५४ सालमा मेयर बनेर चर्चामा आएका स्थापितले काठमाण्डुको रुपरेखा सुधारका लागि आफूसँग ‘मास्टरमाइन्ड योजना’ भएको बताउँदै केही दिनअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेट गरेका थिए ।

पछिल्ला दिनमा एमाले नेतृत्व मेयर शाक्यसँग त्यति खुसी नभएको र नगर कमिटीबाट नै सिफारिस भएकाले एमालेले स्थापितलाई मेयरको उम्मेदवारका रुपमा अगाडि सार्न लागेको हो । ‘स्थापितलाई टिकट दिने सहमति भएपनि औपचारिक निर्णय भइसकेको छैन, एक नेताले भने, ‘शनिबारसम्म यसबारे टुंगो लाग्ने छ ।’