काठमाण्डु – निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दा आज पेसीमा चढेको छ । नेकपा एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गर्न सहयोग गरेको भन्दै निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले आयोग र सभामुखलाई विपक्षी बनाएको सो मुद्दा सुनुवाइका लागि आज तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको हो । नेकपा एमालेले आफ्नो पार्टीका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गतेको मितिमा नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।
आयोगले नेकपा एसलाई नयाँ दलको मान्यता दिएपछिमात्र सभामुखले अब केही कारवाही गर्नु नपर्ने भन्ने सूचना टाँस गरेका थिए । त्यसका विरुद्ध एमालेले सदन अवरोध जारी राखेको छ भने अदालतमा मुद्दा चलिरहेको छ ।
एमालेले माधव नेपालसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवललाई निष्कासन गरेको थियो ।




प्रतिक्रिया