राजीनामाको विकल्पसहित सभामुख सापकाेटालाई एमालेको दुई सन्देश

राजीनामाको विकल्पसहित सभामुख सापकाेटालाई एमालेको दुई सन्देश

माग पुरा नभएसम्म एमालेले संसद अवरुद्ध जारी राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई औपचारिक रुपमै प्रस्ट दुईवटा सन्देश दिएको छ ।

बुधबार र बिहीबार काठमाण्डुमा बसेको केन्द्रीय कमिटी बैठकले सभामुख सापकोटालाई एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए पदबाट राजीनामा दिएर बाहिरिनुपर्ने भन्ने औपचारिक रुपमा नै दुईवटा सन्देश दिएको हो ।

‘हाम्रो पार्टी प्रस्ट छ– प्रतिनिधिसभा पुनस्र्थापना गर्ने २८ असार २०७८ को परमादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चहान्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं,’ एमाले बैठकले पारित गरेको दस्तावेजमा भनिएको छ, ‘तर यसका लागि या त १४ सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ ।’

एमालेबाट निष्काषन गरिएका माधवकुमार नेपाल, बेदुराम भुसाल, प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडालगायत १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस नगरेसम्म प्रतिनिधिसभा बैठकलाई निरन्तर अवरोध गरिरहने पनि बैठकले सन्देश दिने देखिएको छ ।

गत २५ साउनमा एमाले १४ जना सांसदहरू माथि कारबाही गरिएको भन्दै सभामुखलाई १ भदौंमा जानकारी गराएको थियो । तर, सभामुख सापकोटाले उक्त लिखित जानकारी दिँदा पनि पदमुक्तको सूचना टाँस नगरेको भन्दै २३ भदौबाट निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

माओवादी केन्द्रले कारबाही गरेका सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई तथा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सम्बन्धित पार्टीले कारबाहीको जानकारी गराएलगत्तै पदमुक्तको सूचना सभामुख सापकोटाले टाँस गरेको, तर एमालेले जानकारी गराउँदा पनि पदमुक्त नगरेको भन्दै सभामुख सापकोटासँग एमाले आक्रोशित हुँदै आएको छ ।

‘एमालेलाई विभाजन गरी छाडने दुराशयका साथ, विगतमा आफैँले स्थापित गरेको नजिरको समेत बर्खिलाफ गएर, दोहोरो मापदण्ड अपनाउँदै सभामुखबाट उक्त सूचना प्रकाशन गर्न अस्विकार गरेको,’ एमाले बैठकको निष्कर्ष छ ।

‘यसैको जगमा टेकेर निर्वाचन आयोगले एमालेबाट अलग भएर निस्किएको समूहलाई नयाँ दलका रुपमा दर्ता ग¥यो, सभामुखको यस्तै विभेदकारी, असंवैधानिक र असंसदीय भूमिकाको विरोधमा एमाले संसदीय दलको निर्णयअनुसार गत २३ भदौदेखि हाम्रा पार्टीका सांसदहरूले बेल घेराउ गरेर विरोध गरिरहनु’ परेको एमालेको तर्क छ ।

संसदको प्रतिपक्ष मात्र नभएर मुलुककै सबैभन्दा ठुलो दलले अगाडि सारेको संवेदनशील, संवैधानिक र लोकतन्त्रकसँग जोडिएको प्रश्नमा गम्भीर नदेखिएको भन्दै एमालेले १४ सांसदको पदमुक्तको सूचना टाँस, नभए सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पूर्ववतः अडान राखेर केन्द्रीय कमिटी बैठकबाट नै निर्णय गरेर सन्देश पठाउन लागेको एक नेताले बताए ।