एमालेको दशौं अधिवेशन आजबाट सुरु हुँदै


काठमाण्डु – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

आज मध्यान्ह चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुने अधिवेशनका लागि लागि सबै तयारी पूरा भएको र उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् । चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते हुने छ ।

त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement