काठमाण्डु – नेकपा एमालेको संगठित सदस्य संख्या ११ लाख नाघेका छ । २०७८ चैत मसान्तसम्म मुलुकको सवैभन्दा ठूलो दल एमालेको संगठित सदस्य संख्या ११ लाख नाघेको हो ।
एमाले केन्द्रीय कार्यालयका अनुसार २०७८ चैत मसान्तसम्ममा संगठित सदस्य ११ लाख ३ हजार ७ सय ४३ जना पुगेका छन । पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्ने नेतादेखि कार्यकर्ताहरुको संख्या जोडदा अझै बढने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।
चुनाव नजिकिएसँगै कांग्रेस, माओवादी, जसपा, लोसपालगायतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या जोड्दा १३ लाख नाघ्ने अनुमान गरिएको छ । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ एमालेले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।
साथै एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश कार्यक्रमका लागि देश दौडाहामा निस्किएका छन् । एमालेको १०औँ महाधिवेशन सम्पन्न हुने बेला मंसिरमा सङ्गठित सदस्य आठ लाख ५५ हजार रहेको थियो । यसबीचमा २ लाख ५० हजार भन्दा बढी सदस्य थपिएको एमालेले जनाएको छ ।
त्यस्तै एमालेपछि दोस्रो ठूलो दल नेपाली कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजार रहेको छ । काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ । कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माका अनुसार आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमा राखिएको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको कांग्रेसले जनाएको छ ।
कांग्रेसका अनुसार क्रियाशील सदस्यहरूमा १६ देखि २५ वर्ष उमेर समूहका ५ प्रतिशत र २६ देखि ४० वर्षसम्म उमेर समूहका झन्डै ३० प्रतिशत क्रियाशील सदस्य छन् । यस्तै माओवादी केन्द्रले पनि सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको बताएको छ । तर एमाले र कांग्रेसले जसरी वेभसाइटमा भने राखेको छैन ।




प्रतिक्रिया