एमालेले अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने

एमालेले अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने


काठमाण्डु – नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न नदिने भएको छ ।

बजेट तयार पार्दा अर्थमन्त्रीले अनधिकृत रुपमा अन्य व्यक्तिहरुलाई राखेर करको दायरा हेरफेर गरेको सार्वजनिक भएपछि एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने निर्णय गरेको हो । संसदमा अर्थमन्त्रीबाहेक अन्य मन्त्रीहरुले बोल्न पाउनेछन् ।

आजको बैठकमा मन्त्रालयगत रुपमा विनियोजित बजेटमाथि मन्त्रीहरुले जवाफ दिने कार्यसूचि छ । तर, अर्थमन्त्रीलाई बोल्न नदिने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘हामीले अर्थमन्त्रीको राजीनामा माग गरेका छौं । हामी अर्थमन्त्रीलाई संसदमा बोल्न दिँदैनौं । अरु मन्त्रीको कुरा सुन्छौं, उहाँहरुलाई बोल्न दिन्छौं ।’

एमालेले मंगलबारको संसद बैठकमा अर्थमन्त्री शर्माको राजीनामा मागिसकेको छ । भने उनले दिएको जवाफ बहिस्कार गरेको थियो ।
साथै एमालेले अर्थमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति गठनको माग गरेको छ ।