सरकारी छाप र दस्तखत किर्ते प्रकरण : एमालेकी प्रदेश सांसद खातुन पदमुक्त

सरकारी छाप र दस्तखत किर्ते प्रकरण : एमालेकी प्रदेश सांसद खातुन पदमुक्त


काठमाण्डु – नेकपा एमालेकी प्रदेशसभा सांसद गुलेफान खातुन पदमुक्त भएकी छन् । सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएपछि उनको पद गुमेको हो ।

जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई जेठ २५ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । प्रदेश १ की सांसद खातुनले मुद्दा दोहोर्‍याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

उच्च अदालत विराटनगरले सदर गरेको जिल्ला अदालत मोरङको फैसलामा चित्त नबुझेपछि सांसद खातुन सर्वोच्च पुगेकी हुन् । तर सर्वोच्चले पनि उनको निवेदन खारेज गरिदिएको छ । उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्‍याउन अनुमति नहुने आदेश दिएको भएको छ ।

खातुनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाहा गाविसबाट लिएको सिफारिसकै चलानी नम्बर राखेर गाविस सचिवको दस्तखतसमेत नक्कली बनाइ जग्गा एकलौटी बनाउने गरी कर्मचारीको मिलेमतोमा अर्को सिफारिस निकालेकी थिइन् ।

एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो । उक्त मुद्दामा पक्राउ परेकी खातुन र उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा बसेका थिए । खातुन १० हजार धरौटीमा रिहा भएर उच्च अदालतमा मुद्दा लड्दै आएकी थिइन् ।