पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने अनेरास्ववियुको चेतावनी


काठमाण्डु – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी भारी मात्रामा मूल्य वृद्धि गरेपछि अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै मुल्यवृद्वि फिर्ता नलिए त्यसकाविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रने चेतावनी दिएको हो ।

“पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै गरीब जनताको चुलो बल्ने अवस्था छैन, अतिआवश्यक वस्तु तथा सार्वजनिक यातायातको भाडा महँगिने निश्चित छ । देशमा राज्य छ कि छैन भन्ने अवस्था छ, मुल्य समायोजनको बाहनामा अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकार विभिन्न कर थुपारेर राजस्व उठाउन व्यस्त छ, आयल निगम चुहावट नियन्त्रण गर्न होइन कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त छ । जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ ।” विज्ञप्तीमा उल्लेख गरीएको छ ।

साथै, अनेरास्ववियुले जनसमुदायलाई र आम नेता कार्यकर्ताहरुलाई मुल्यवृद्वि विरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आव्हान समेत गरेको छ । सरकारले बढाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेलको प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।