एमसीसी विवाद : गठबन्धनको निर्णय कुर्दै एमाले, प्रचण्ड-माधव तनावमा 

एमसीसी विवाद : गठबन्धनको निर्णय कुर्दै एमाले, प्रचण्ड-माधव तनावमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु – सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने की नगर्ने विषयमा विवाद बढेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास नभए गठबन्धन फुट्ने चेतावनी दिएसँगै गठबन्धनभित्र खैलाबैला मच्चिएको हो । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न गठबन्धन दलहरुले सहयोग नगरे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्ने समेत बताइसकेका छन् ।

देउवाले आफ्ना विश्वासपात्र समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आइतबार बालकोट पठाएका थिए । कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीबारे छलफल गरेका छन् । यसअघि गत पुष २४ गते प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब सवा घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । 

उक्त भेटमा सदनको अवरोध हटाउने विषयमा मात्र नभइ एमसीसी पास गर्नेबारे समेत छलफल भएको थियो । यदि गठबन्धन फुटेमा एमसीसी पास गर्ने पक्षमा एमाले रहेको स्रोतले जनाएको छ । नेकपा एमाले हालको पाँच दलीय गठबन्धन स्थानीय चुनाव अघि नै फुटोस् भन्ने चाहन्छ । एमालेले साथ दिए एमसीसी संसदबाट पास हुन सक्ने सम्भावना पनि रहेको छ ।

एमसीसी दबाबमा गठबन्धन जोगाउन प्रचण्ड-माधवलाई सकस

प्रधानमन्त्रीको एमसीसी पास गर्ने दबाबले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल भने हाल अफ्ठेरोमा परेका छन् ।  एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा रहेका बेला देउवाले दिएको चेतावनीले गठबन्धन जोगाउन प्रचण्ड-माधवलाई चुनौती बनेको हो ।  माओवादीका र एकीकृत समाजवादीका अधिकांश नेताहरु एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन । तर, त्यसका लागि प्रधानमन्त्री देउवा तयार छैनन् । प्रधानमन्त्री देउवा परिमार्जन बिना नै एमसीसी पास गर्न गठबन्धन दलहरूलाई दबाब दिइरहेका छन् । 

प्रचण्ड-माधवलाई एकातिर दुःख गरेर निर्माण गरेको गठबन्धन जोगाउनु छ भने अर्काेतिर एमसीसी विरोधीहरुको बहुमत भएको आफ्नो पार्टीलाई व्यवस्थापन गर्नुछ । यसैबीच गठबन्धनमा रहेका यी दुबै अध्यक्षहरूले सोमबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा प्रचण्ड-माधवले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन् । स्रोतका अनुसार उनीहरूले प्रधानमन्त्रीको परिमार्जन बिना नै एमसीसी पास गर्ने प्रस्तावमाथि छलफल गर्नका लागि केही समय मागेका हुन् । 

यता (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले संशोधन बिना एमसीसी कुनै पनि हालतमा पारित नहुने काठमाण्डुपाटीलाई बताए । नेता गजुरेलले एमसीसीका केही बुँदाहरू राष्ट्रघाती भएकाले ती बुँदालाई परिमार्जन गर्नुपर्ने दाबी गरे । उनले काठमाण्डुपाटीसँगको कुराकानीमा भने, ‘एमसीसी पास गर्ने हो भने पहिला संशोधन गर्नुपर्छ । यदि संशोधन हुँदैन भने कुनैपनि हालतमा एमसीसी पास हुँदैन् ।’ 

त्यसैगरी नेता गजुरेलले एमसीसी पास गर्ने विषयले  गठबन्धन नफुट्ने समेत दावी गरे । प्रधानमन्त्री देउवाको चेतावनीलाई खण्डन गर्दै उनले भने, ‘अब गठबन्धन फुटाएर एमसीसी पास हुन्छ ? के एमसीसी पास गर्न मात्र हो गठबन्धन बनाएको ? होइन नी ! त्यसकारण एमसीसी पास गर्ने विषयलाई लिएर गठबन्धन फुट्दैन् । हालको गठबन्धन कायमै रहन्छ । माओवादीको धारणा भनेको एमसीसी पास गर्नु हुँदैन् भन्ने होइन । तर केही बुंदा संशोधन गरेर मात्र एमसीसी पास गर्नु पर्छ ।’

गठबन्धन दलहरुको निर्णय कुर्दै एमाले

नेकपा एमाले भने हाल एमसीसीको विषयमा मौन छ । एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले एमसीसीबारे हाल आफूहरुले कुनै पनि निर्णय नगरेको काठमाण्डुपाटीलाई बताए । भट्टराईले सत्ता गठबन्धन दलहरुको ठोस निर्णय आएपछि मात्र आफूहरु एमसीसी पास गर्ने की नगर्ने भन्ने बिषयमा छलफल गर्ने बताए । 

‘अब सत्ता गठबन्धन दलहरुको एमसीसी पारित गर्ने की नगर्ने विषयमा ठाेस निर्णय आएको छैन् । सबै भन्दा पहिला कुनै पनि विधेयक पास गर्ने या नगर्ने भन्ने दायित्व सरकारको हुन्छ । त्यसकारण हामीले एमसीसीबारे कुनै पनि छलफल  गरेका छैनौँ र धारणा पनि बनाएका छैनौँ,’ उनले भने, ‘हामी अहिले सरकारमा नभएका कारण एमसीसीबारे धारणा बनाउन सक्ने अवस्थामा पनि छैनौँ । एमसीसीबारे बनाएको धारणालाई कार्यान्वयन गर्नको लागि त सरकारमा हुनुपर्यो नी । त्यसकारण पहिला सरकारले एमसीसीबारे के धारणा ल्याउछँ त्यहि पर्खाइमा छौँ ।’

त्यसैगरी उनले एमसीसी पास गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवाबीच कुनै पनि छलफल नभएको दाबी गरे । ‘नेकपा एमालेको उदेश्य बनेको गठबन्धन फुटाउने होइन् । हामी त प्रमुखप्रतिपक्षी दल हो । अर्को कुरा अध्यक्ष ओलीज्यु र प्रधानमन्त्री देउवाबीच एमसीसी पास गर्नेबारे कुनै पनि छलफल भएको छैन् । पहिला गठबन्धन दलहरुको एमसीसीबारे धारणा के आउँछ अनी हामी आफ्नो धारणा बनाउँछौँ ।’