काठमाण्डु – अमेरिका लैजाने भन्दै ठगीको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले अमेरिकाको डिभी परेको भन्दै युवकबाट पैसा असुल्ने युवतीलाई पक्राउ गरेको हो ।
उनीहरुले अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै युवकहरुसँग पैसा असुल्दै आएका थिए ।
पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेगाँउपालिका–२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।
घटनाको अनुसन्धान गर्न महाशाखाबाट खटिएको प्रहरीले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेको हो । हाल ती युवतीहरु रुपन्देही बुटवलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न बहानामा पटक/पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्दै १ लाख ६० हजार रुपैयाँठगी गरेको र निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेतआफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ ।
उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया