काठमाण्डु–अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानमा शनिबार आगलागी भएको छ।
मियामीतर्फ उडान गर्न लागेको सो विमानको ल्यान्डिङ गियरमा समस्या देखिएपछि टेकअफ रोक्दा पछिल्लो भागमा आगो लागेको हो। स्थानीय समय अनुसार दिउँसो २:४५ बजे दुर्घटना भएको बताइएको छ।
विमानमा १७३ जना यात्रु र ६ जना क्रु सदस्य सवार थिए। आपतकालीन स्लाइडको प्रयोग गरी सबैलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ। घटनामा ६ जना सामान्य रूपमा घाइते भएका छन् भने एक जनालाई अस्पतालमा भर्ना गरिएको छ।
अमेरिकन एयरलाइन्सका अनुसार टायरमा खराबी देखिएपछि विमानलाई सेवा बाहिर राखिएको छ। आगो नियन्त्रणमा आइसकेको र मियामी गन्तव्यका यात्रुहरूका लागि वैकल्पिक विमानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ उडान प्रभावित भएका छन्।




प्रतिक्रिया