अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित


न्यूयोर्क – संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त रहेका छन् ।

विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । राष्ट्रपति ट्रम्प र उहाँका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् ।

गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा. रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिएका थिए । किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए ।

खोपका लागि ट्रम्पको छटपटीले विज्ञान वा खोप निर्माण प्रक्रियालाई असर गरेको छ भन्ने कुनै संकेत भने देखिएको छैन, तर चुनावअघि खोप निर्माण हुन सके चुनावलाई आफ्नो पक्षमा पार्न सकिने उहाँमा अटल विश्वास छ ।

ट्रम्प र विज्ञानबीचको द्वन्द्व कोभिड–१९ फैलिन थालेदेखि नै निरन्तर जारी छ । जनवरीको आखिरमा चीनको वुहानमा पहिलो पटक भाइरस देखा परिसकेपछि सिडिसीले आपतकालीन केन्द्रको थालनी गरेको थियो । इपिडेमियोलोजी (संक्रामक रोग विशेषज्ञ) विज्ञहरुले यो रोगलाई नियन्त्रणमा ल्याउन र फैलिन नदिन तत्कालै आक्रामक जनचेतना र सम्पर्क पहिचान (कन्टाक्ट ट्रेसिङ) आवश्यक रहेको बताएका थिए ।

यसको सट्टा, ट्रम्पले पहिलो महत्वपूर्ण हप्ताहरुमा सार्वजनिक रूपमै भाइरस केही होइन भन्दै हल्काफुल्का टिप्पणी गरे । यद्यपि उनले आफ्ना भित्री सहयोगीलाई भाइरस निकै खतरापूर्ण रहेको स्वीकारेका थिए ।

राष्ट्रपतिले पत्रकार बब वुडवर्डलाई मार्चमा भनेका थिए, “यो मामुली भाइरस हो, यसलाई सहजै परास्त गर्न सकिन्छ ।” मार्चको मध्यसम्ममा, न्यूयोर्क र अन्य ठाउँका अस्पतालहरू बिरामीहरूले भरिभराउ भए र फ्रिजयुक्त ट्रकमा शवहरू राख्नु परेको थियो ।

मार्च ३१ मा, राष्ट्र अझै पनि महामारीको स्वरुप र प्रभाव बुझ्न आतुर थियो । ह्वाइट हाउसको कोरोनाभाइरस प्रतिक्रिया समन्वय केन्द्रका डा डेबोरा बर्क्स र संक्रामक रोगसम्बन्धी नेशनल इन्स्टिच्युटका निर्देशक डा एन्थोनी फाउचीले राष्ट्रपति ट्रम्पको छेउमा उभिएर अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनसक्ने व्यक्तिको संख्याबारे अनुमान प्रस्तुत गरे । दुबै चिकित्सकले मुलुकमा मास्क अनिवार्य नगर्ने, सामाजिक दूरी कायम नगर्ने र व्यवसाय बन्द नगर्ने हो भने एक लाखदेखि २ लाख ४० हजारसम्म व्यक्तिको मृत्यु हुनसक्ने जानकारी दिए।

उहाँहरूले यदि संयुक्तराज्य अमेरिकाले कडा कदम चालेमा एक लाखभन्दा कम व्यक्तिको मात्र मृत्यु हुन सक्ने बताएका थिए । त्यसलगत्तै राष्ट्रपति ट्रम्पले भने,“हामीलाई त्योभन्दा अझ कम व्यक्तिको मृत्यु हुने आशा छ ।” अझै, राष्ट्रव्यापी रुपमै मास्क अनिवार्य गर्नुको साटो ट्रम्प प्रशासनले केही हप्तामा नै “अमेरिका खोलौं” भन्ने अभियान चलायो ।

सिडिसीले उद्योग, व्यवसाय पुनः खोल्ने निर्णयलाई सहयोग पु¥याउन निकै कडा नयाँ निर्देशिकाहरु तयार गर्यो । तर ह्वाइट हाउसले त्यस निर्देशिकालाई कडा ठान्यो । ह्वाइट हाउसका नीति निर्माताहरुले सिडिसीका वैज्ञानिकहरुप्रति लक्षित गर्दै “दिनको उज्यालो कहिल्यै देख्न नदिनेहरु” भन्दै आलोचना गरे ।

एसोसिएटेड प्रेसले ६३ पृष्ठको एउटा निर्देशिका तयार गरेको थियो जसले कार्यस्थल, दिवासेवा केन्द्रहरु र रेस्टुरेन्टहरूको लागि विज्ञानमा आधारित सिफारिशहरू गरेको थियो । अनुमान गरिएझैं नतिजा आयोः समुदायहरू फेरि खुलेपछि संक्रमण तिब्र गतिमा वृद्धि भयो, र मृतकको संख्या एक लाखमुनि राख्ने आशामा तुषारापात भयो ।सिडीसी सिफारिसहरू जारी गर्नुअघि परीक्षणका लागि ह्वाइट हाउस कार्यदलको माध्यमबाट जारी गरिएको थियो ।

रेडफिल्डमाथि अहिले सिडिसीको प्रतिरक्षा गर्न नसकेको भन्दै आलोचना गरिएको छ, र लामो समयदेखि सिडिसीमा काम गरिसकेका व्यक्तिहरुले यसको नेतृत्वले राजनीतिको साटो विज्ञानलाई प्रधान्य दिने आशा गरेका छन् ।-एपी

प्रतिक्रिया दिनुहोस
Advertisement