अमेरिकामा फाइजरको कोरोना खोप लगाउन अनुमति, अमेरिकी नागरिकले निशुल्क पाउने

अमेरिकामा फाइजरको कोरोना खोप लगाउन अनुमति, अमेरिकी नागरिकले निशुल्क पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाले फाइजरले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आपत्कालीन प्रयोगका लागि अनुमति पाएको छ ।
शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए) ले फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको रोयटर्सले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् । ९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिकलाई कोरोना खोप निःशुल्क रुपमा वितरण गरिने बताएका छन् ।

यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए । पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा बिहीबार एकैदिन तीन हजार भन्दा बढीको कोरोनाले मृत्यु भएको थियो । एकैदिन कुनै पनि मुलुकमा कोरोनाले यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

अमेरिकामा अहिलेसम्म १ करोड ५८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै कोरोनादे २ लाख ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ भने बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् ।