काठमाण्डु – अमेरिकामा लाखौँ मानिसले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।
ट्रम्पविरुद्ध आयोजना गरिएका ‘नो किङ्ग्स’ भनिएको प्रदर्शनहरूमा लाखौं मानिस सहभागी भएका छन् ।
ठूला र साना खालका त्यस्ता प्रदर्शनहरू ट्रम्पको मार आ लागो निवास नजिकैसहित सबै ५० वटा राज्यमा आयोजना भएको छ ।
अमेरिकाभरि ठूलो संख्यामा विभिन्न शहरहरूमा जम्मा भएका प्रदर्शनकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पका नीतिहरूको विरोध गरेका छन् ।
न्यूयोर्क, वाशिङ्गटन डीसी, सिकागो, मायामी र लस एन्जलससहितका शहरहरूमा जम्मा भएका प्रदर्शनकारीहरूले ‘नो किङ्स’ नामक उक्त प्रदर्शनमा कागजातविहीन आप्रवासीमाथिको दमन, नेशनल गार्डका फौजहरूको परिचालन र संघीय रोजगारीको कटौतीजस्ता ट्रम्प प्रशासनका नीति विरोध गरेका छन् ।
यसै वर्षको जनवरीमा ट्रम्पले सत्ता सम्हालेयता भएको यो तेस्रो यस्तो किसिमको सामूहिक प्रदर्शन हो ।
रिपब्लिकन दलका नेताहरूले आन्दोलनकारीहरूलाई ‘कम्युनिस्ट’ र ‘माक्र्सवादी’ को आरोप लगाएका छन् ।
न्यूयोर्कको चर्चित टाइम्स स्क्वायरमा शनिवार बिहान सुरु भएको प्रदर्शनमा केही समयमा नै हजारौँ मानिस सहभागी भएका थिए ।
त्यहाँका चोक र सब वे प्रवेशद्वारमा ‘राजतन्त्र होइन, लोकतन्त्र’ र ‘संविधान विकल्प होइन’ जस्ता सन्देश लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूको जमघट थियो ।
प्रदर्शनअघि ट्रम्पका साझेदारहरूले आन्दोलनकारीहरूको सम्बन्ध अतिवामपन्थी एनटिफा अभियानसँग भएको बताएका थिए । उनीहरूले अमेरिकामाथि घृणा व्यक्त गर्न आयोजित र्यालीको निन्दा पनि गरेका थिए ।
नो किङ्ग्स कार्यक्रमहरूको अहिंसा प्रमुख सिद्धान्त भएको उक्त समूहले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । साथै उसले सम्भावित झगडाहरू तत्कालै शान्त पार्न पनि सबै सहभागीहरूलाई अनुरोध गरेको छ ।
न्यूयोर्कको पुलिस डिपार्टमेन्टले १ लाखभन्दा बढीले प्रदर्शनमा सहभागिता जनाएको भन्दै कसैलाई पनि पक्राउ नगरिएको उल्लेख गरेको छ ।
ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले राष्ट्रपतीय अधिकारको सीमा विस्तार गरेका छन् र आफ्नो कार्यकारी आदेशहरूमार्फत् संघीय सरकारका कतिपय हिंसालाई समाप्त पारिदिएका छन् ।
उनले राज्यका गभर्नरहरूको असहमतिका माझ अमेरिकाका विभिन्न शहरहरूमा नेशनल गार्डका फौजहरू खटाएका छन् ।
उनले आफ्नो प्रशासनका प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका उच्च अधिकारीहरूलाई आफूले शत्रु ठानेका व्यक्तिहरूलाई कारबाही गर्न पनि भनेका छन् ।




प्रतिक्रिया