अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटायो

अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ। अमेरिका–इरानले मध्यपूर्वको युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै नाकाबन्दी हटेको हो ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार नाकाबन्दी अन्त्य गरिएको पुष्टि गर्दै एक्समा केही अमेरिकी युद्धपोतहरू भने सामान्य क्षेत्रमा रहने जनाएको छ।

त्यसको केही समयपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनी ले आफूले फरक धारणा राखे पनि अमेरिकासँग भएको सम्झौतालाई स्वीकृति दिएको बताएका छन्। उनले राष्ट्रपति मसुद पेजेशकियान ले इरानी जनताको अधिकारको रक्षा गर्ने आश्वासन दिएपछि सम्झौता अघि बढ्न दिएको बताएको बीबीसीले लेखेको छ ।

खामेनीले राष्ट्रपति डोनाल्ड ट्रम्प ले सम्झौता गराउन हतास भएर विभिन्न प्रकारका दबाब र प्रभाव प्रयोग गरेको आरोप लगाएका छन् । उनले भविष्यमा तेहरान र वासिङ्टनबीच प्रत्यक्ष वार्ता हुने बताए पनि त्यसले शत्रुको अडान स्वीकार गरेको अर्थ नलाग्ने स्पष्ट पारे।

यो सम्झौताबारे खामेनीको पहिलो सार्वजनिक प्रतिक्रिया हो। गत मार्चमा उनका पिता तथा पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनी को फेब्रुअरी २८ मा भएको अमेरिका–इजरायल आक्रमणमा मृत्यु भएपछि उनी सत्तामा आएका थिए। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

ट्रम्पले खामेनीको अभिव्यक्तिमा प्रत्यक्ष प्रतिक्रिया नदिए पनि आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इजरायल र इरान समर्थित हेजबोल्लाह बीचको मोर्चासहित सबै क्षेत्रमा युद्धविराम लागू हुने अपेक्षा गरेको बताएका छन्। उनले मध्यपूर्वका देशहरूले वार्तालाई निरन्तरता दिन प्रतिबद्ध रहने विश्वास पनि व्यक्त गरेका छन्।

अमेरिका–इरान सम्झौता १४ मुख्य बुँदामा आधारित छ। यसमा हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने, इरानले कहिल्यै परमाणु हतियार नबनाउने सुनिश्चित गर्ने तथा देशको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्ने प्रावधान समावेश छन्। यद्यपि उक्त कोषमा अमेरिका योगदान गर्न बाध्य हुने छैन।

सम्झौताअनुसार दुवै पक्षले अधिकतम ६० दिनभित्र अन्तिम सहमति गर्नुपर्नेछ। आवश्यक परे दुवै पक्षको सहमतिमा यो अवधि थप गर्न सकिनेछ।