कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई ३० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई ३० लाख डलर सहयोग गर्ने अमेरिकाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले नेपाललाई कोरोना भाइरसको संक्रमणविरुद्ध लड्नका लागि ३० लाख डलर स्वास्थ्य सहयोग गरेको छ ।

अमेरिकी राजदूत र्याण्डी बेरीले कर्णाली प्रदेश तथा प्रदेश ५ मा स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने कार्यमा सहयोग गर्नका लागि अमेरिकी जनताले युएसएआईडीमार्फत नेपाल सरकारलाई सहयोग गरेको बताएका छन् ।

‘मुलुकै सर्वाधिक सङ्कटापन्नमध्येका धेरै समुदायहरु छन् । र जुन क्षेत्र विदेशमा काम गरी फर्किने थुप्रै नेपालीहरुको गन्तव्य थलो समेत हो’, उनले भनेका छन् ।

राजदूत बेरीकाअनुसार यस पछिल्लो योगदानसँगै नेपाल सरकारको कोरोना भाइरसविरुद्धको प्रतिकार्यको सहयोगार्थ युएसएआईडीको अतिरिक्त आर्थिक सहयोग ७३ लाख डलर पुगेको छ ।

‘मलाई हर्ष लागेको छ कि अमेरिकी जनताले युएसएआईडीमार्फत थप ३० लाख अमेरिकी डलर स्वास्थ्य सहयोग स्वरुप उपलब्ध गराएका छन्’, राजदूत बेरीले भने ।

गत चैतमा व्यक्तिगत सुरक्षा उपकरण आपूर्तिका रुपमा सुरु भएको उक्त सहयोग यस रोगविरुद्धको लडाइँका लागि अझै सारभूत सहयोगका रुपमा वृद्धि भइरहेको राजदूत बेरीले बताए ।

‘यो अतिरिक्त सहयोग हामीद्वारा यसअघि प्रदान गरिएको १८ लाख डलर जसले परीक्षण, सम्पर्क खोजतलास, स्वास्थ्य तयारी र सामुदायिक शिक्षालाई मद्धत गरेको थियो’, उनले भने ।

त्यस्तै राजदूत बेरीले कोरोना भाइरसको दोस्रो तहको आर्थिक सामाजिक प्रभावको प्रतिकार्यका लागि २५ लाख डलर थप सहयोग गरेको जानकारी दिए ।

‘म तपाईहरुलाई आश्वास्त पार्न चाहान्छु कि मेरो टिम हरेक अवसरको खोजी गरिरहेको छ, थप स्रोत जुटाउन र चालु कार्यक्रमहरुलाई पुननिर्देशित गर्दै नेपाली जनता र नेपाल सरकारलाई हामी सबैलाई सुरक्षित राख्ने कार्यमा सघाउनका लागि । फेरी पनि हामीलाई खुशी लागेको छ’, उनले भने ।

उनले नेपालसँग निष्ठापूर्वक साझेदारी गर्न पाउनु अमेरिकाका लागि विशिष्ठ सम्मानको विषय भएको बताएका छन् ।

‘नेपाली जनताको तर्फबाट नेपाल सरकारले गरेको आह्वानलाई सम्बोधन गर्दै कोरोनाको प्रभावलाई सीमित बनाउन युएसएआईडीको सहायतामाफृत अतिरिक्त सहयोग प्रदान गर्न पाएकोमा । नेपालसँग निष्ठापूर्वक साझेदारी गर्न पाउनु हाम्रा लागि विशिष्ठ सम्मानको विषय हो । जसरी हामीले ७२ भन्दा बढी वर्षदेखि गर्दै आइरहेका छौं । संकटको यो घडीमा अझै उत्थानशील । स्वस्थ र समृद्ध राष्ट्रको निर्माणका लागि’, उनले भने ।