एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडनले सैन्य ‘कू’ गर्ने म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडेनले जारी गरेको एउटा कार्यकारी आदेश अनुसार यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति निशाना बनाइएकाे छ ।
सैन्य ‘कू’ विरुद्ध प्रदर्शनका क्रममा गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपदस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्ध लगाउने भएकाे हो। यस्तै अमेरिकामा रहेका एक अर्ब अमेरिकी डलर बराबरको सरकारी कोषमा म्यानमार सेनाको पहुँचमा पनि प्रतिबन्ध लगाइएको छ ।
प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा सुरक्षाकर्मीले पानीको फोहरा, रबरको गोली तथा ताकेरै गोली प्रहार गरेका थिए। म्यान्मारमा गत साता सेनाले सत्ता कब्जा गरेयता त्यसको विरोधमा हजारौँ मानिसले प्रदर्शन गर्दै आएका छन्।नेत्री आङ सान सूकीको जननिर्वाचित सरकारलाई सत्ताबाट च्युत गर्दै सेनाले एक वर्षका लागि सङ्कटकाल घोषणा गरेको छ।
सूकी सहित कैयौँ वरिष्ठ नेतालाई सेनाले नजरबन्दमा राखेको छ। तर ठूला जमघटहरू गर्न नपाइने नियम तथा रात्रिकालीन कर्फ्युको अवज्ञा गर्दै मानिसहरूले सेनाको विरोधमा प्रदर्शन गर्न छोडेका छैनन्। अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सूकी सहित जननिर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन्।
अमेरिकी राष्ट्रपति बाइडेनले निर्वाचित नेतृत्वलाई सत्ता हस्तान्तरण हुनु पर्ने र नेतृ सूकीसहित गिरफ्तार सबै नेताहरु रिहा गरिनु पर्ने बताएका छन् । आवश्यक परेमा थप कदम पनि चाल्ने बताउँदै बाइडेनले भने, ‘बर्मामा नागरिकले आवाज बुलन्द गरेका छन् र विश्वले नजिकबाट नियालिरहेको छ ।’




प्रतिक्रिया