काठमाण्डु– अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित अमेरिकी राजदूत डिन आर थम्पसनबीच सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपालको हालको राजनीतिक तथा आर्थिक परिस्थिति, आगामी निर्वाचन, पुनर्निर्माण योजना र निजी क्षेत्रलाई राहत दिने सहुलियत प्याकेजबारे विस्तृत छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा बनेको वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने, पुनर्निर्माणलाई गति दिने र निजी क्षेत्रको मनोबल उच्च राख्ने रहेको बताए।
यस अवसरमा अमेरिकी राजदूत थम्पसनले हालैका घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दै अमेरिकाले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए। साथै, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको एमसीए नेपालमार्फत सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्न नेपाल सरकारको थप प्रतिवद्धता आवश्यक रहेको उल्लेख गरे।
अर्थमन्त्री खनालले ती परियोजनाहरूलाई ढिलाइ नगरी सफलतापूर्वक अघि बढाउने सरकारको प्रतिबद्धता प्रष्ट पार्दै नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त हुँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।
बैठकमा अर्थसचिव घनश्याम उपाध्याय, वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू तथा अमेरिकी दूतावासका प्रतिनिधिहरू उपस्थित थिए।




प्रतिक्रिया