संशोधनसहितको एमसीसी अमेरिकालाई स्वीकार्य छैन्ः राजदूत बेरी

संशोधनसहितको एमसीसी अमेरिकालाई स्वीकार्य छैन्ः राजदूत बेरी


काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको अनुदान सम्बन्धी संशोधित सम्झौता अमेरिकालाई स्वीकार नहुने बताएका छन् ।

पोखरामा रोटरी इन्टरनेशनलको सम्मेलनमा राजदूत बेरीले सम्झौता संशोधन गरी पारित भए अमेरिकाकाले स्वीकार नगर्ने चेतावनी दिएका हुन् ।

प्रतिपक्षी दलहरुले एमसीसीको पक्षमा रहे पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु भने विभाजित भएका छन् । उनीहरुले एमसीसीभित्रका केही प्रावधानहरु शंशोधन गरेर मात्र सदनबाट पारित गर्नुपर्ने माग गर्दै आइरहेका छन् । नेताहरुबीच फरक–फरक धारण सार्वजनिक भएपछि नेकपा केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

वरिष्ठ नेता झलनथा खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसमा नेकपा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका छन् । कार्यदलले तथ्यका आधारमा सत्य पत्ता लगाउने जानकारी दिँदै यस विषयमा गृहकार्य जारी राखेको छ । नेता रावल र खनालले पनि एमसीसीका केही प्रावधानहरु हटाएर मात्र राख्नुपर्ने बताउँदै आएका छन् ।

एमसीसी परियोजनाअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् र सडकका लागि रु ५६ अर्ब सहयोग उपलब्ध गराउनेछ । पाँच वर्षको अवधिमा रकम खर्च गर्नुपर्ने एमसीसीलाई संघीय संसद्ले अनुमोदन गर्नुपर्नेछ ।