काठमाण्डु – अमेरिकी सेनाका चार तारे जर्नेल चाल्र्स ए फ्लिन काठमाण्डु आउंदैछन् । अमेरिका सेनाको एसिया प्यासेफिक हेर्ने जर्नेल यही जेठ २६ मा काठमाण्डौं अवतरण गर्न लागेका हुन् । उनी अमेरिकी सेनाको विशेष विमानबाट भारतको राजधानी नयां दिल्ली हुंदै चार दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । चाल्र्स जेठ २९ मा स्वदेश फर्कनेछन् ।
सैनिक प्रवक्ता सहायकरथी नारायण सिलवालले अमेरिका सेनाका चार तारे जर्नेलको सदभावना भ्रमण हुन् लागेको जानकारी दिए । सिलवालकाअनुसार भ्रमण द्धिपक्षीय सहयोग र आपसी हितका विषयमा केन्द्रित रहनेछ ।
अमेरिकी सेनाका जर्नेल चाल्र्सले नेपाल भ्रमणको क्रममा प्रधानसेनापति प्रभुराम शर्मासंग भेटवार्ता गर्ने कार्यक्रम छ । सेनापति शर्मासंग उनले जेठ २७ मा भेटवार्ता गर्नेछन् । त्यसका साथै प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसंग समेत भेटवार्ता गर्ने कार्यक्रम छ ।
जनरल चाल्र्सले नेपाली सेनाको पांचखालस्थित विरेन्द्र सैनिक तालिम केन्द्र र शिवपुरीस्थित स्टाफ कलेजको समेत भ्रमण गर्नेछन् । उनि माउण्टेन फलाइटका लागि समेत जाने कार्यक्रम छ । त्यसका साथै चाल्र्स चीनसंग सीमा जोडिएको रसुवाको धुन्चे समेत पुग्ने कार्यक्रम रहेको स्रोत बताउंछ । तर, उनको भ्रमण त्यहां किन हुन लागेको भन्ने कुनै जानकारी दिईएको छैन् ।
अमेरिकी स्थल सेनाको सबैभन्दा ठूलो सर्भिस कम्पोनेष्ट मानिने युएस आर्मी प्यासिफिक(युएसएआरपीएसी) का सेनापति तहका फ्लिन इण्डो प्यासिफिक क्षेत्रका कमाण्डर नियुक्त भएको ठीक एक वर्षपछि नेपाल भ्रमणमा आउने भएका हुन् ।
उनि मंगलबार भारतको राजधानी नयां दिल्ली पुगेका छन् । उनको भ्रमणको मुख्य उद्देश्य स्टेट पार्टनरसिप प्रोगामलाई अघि बढाउने रहेको बताइन्छ । अमेरिकाले यो कार्यक्रममा हस्ताक्षर गर्न नेपाललाई दबाव दिंदै आएको छ ।
अमेरिकी सेना र नेपाली सेनाका बीच विभिन्न तहमा संयुक्त सैनिक अभ्यास हुँदै आएको छ । पछिल्लो समय दुवै देशका सेनाबीच सम्बन्ध झन् बाक्लिदै गएको छ ।
प्रधानसेनापति शर्माको समेत यही असार १३ देखि १७ सम्म अमेरिकाको भ्रमण हुंदैछ । शर्माले अमेरिकी रक्षामन्त्रालयका उच्च अधिकारी र आफ्ना समकक्षीसंग भेटवार्ता गर्नुका साथै द्धिपक्षिय सैनिक सहयोगका विषयमा समेत छलफल गर्नेछन् ।
शर्माको भ्रमणका क्रममा सैनिक सहकार्य, संयुक्त सैन्य अभ्यास र स्टेट पार्टनरसिप प्रोगाम, एम १६ हतियार खरिदलगायतका विषय एजेण्डामा छन् ।




प्रतिक्रिया