‘सिलसिला’बाट टुटेको थियो अमिताभ-रेखा प्रेमको सिलसिला

‘सिलसिला’बाट टुटेको थियो अमिताभ-रेखा प्रेमको सिलसिला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलिवुडमा अमिताभ–रेखाको जोडीको लोकप्रियतालाई आजको युवा पिँढीले पनि राम्रो ठानिरहेका छन् ।

दुवैले केही स्मरणीय र सफल फिल्ममा काम गरेका छन् र यो जोडीलाई वास्तविक जीवनमा पनि उनीहरूको प्रेमकथाबाट चिन्ने गरिन्छ ।

एउटा त्यस्तो प्रेम कहानी जुन पूरै खुलेर बाहिर आएन तर अमिताभ–रेखाको यो एउटा यस्तो प्रेमगाथा हो जसलाई कहिल्यै भुल्न सकिने छेन ।

रेखा ६८ वर्षकी भइन् त अमिताभ ८० वर्षका भए । सन् १९८१ मा अन्तिम पटक दुईजनाले सिलसिला सिनेमाका लागि एक साथ काम गरेका थिए । तर ४१ वर्षपछि पनि अमिताभ रेखाको जोडी उत्तिकै प्रख्यात छ, जुन सन् १९७६ देखि १९८१ सम्म थियो ।

ती युवा जन्मिनु अघि नै यो जोडीले सिनेमामा धूम मचाएका थिए । आज ४० वर्षका होइन कि २० वर्षका युवादेखि १४ वर्षका किशोरसम्मलाई अमिताभ–रेखाको जोडीको महत्त्व थाहा छ । यी दुईजनालाई फिल्मी पर्दाका असाध्यै सानदार जोडीका रूपमा हेरिन्छ ।

उनीहरूको प्रेम कथा ४०–४५ वर्ष अघि पनि चर्चामा थियो र अहिले पनि छ । त्यसबेला पनि यसको चर्चा अलि मधुरो स्वरमा हुने गथ्र्यो र अहिले पनि । लामो मौन यात्रापछि पनि त्यसको गुञ्जन कायम नै छ ।

फिल्म संसारमा प्रेमकथाको केही कमी छैन । रङ्गीन पर्दामा प्रेम गर्दा गर्दै कति जोडी साँच्चैको प्रेममा परे । तर तीमध्ये केही मात्र विवाह बन्धनमा बाँधिएर जीवनसाथी बने । केही त्यस्ता व्यक्ति पनि छन् जसले विवाह गरेर एक त हुन सकेनन् तर उनीहरूको प्रेमगाथा अमर हुन पुग्यो ।

नरगिस र राज कपूरको प्रेम कहानी त्यस्तै थियो । त्यस्तै कडीमा पर्छ अमिताभ–रेखा को प्रेमकथा पनि जसलाई समय क्रमले लुकाउन सक्दैन ।

पहिलो भेट

अमिताभ र रेखाको पहिलो भेट अमिताभको जया भादुडीसँग विवाह हुनुभन्दा पहिले सन् १९७२ मा नै भइसकेको थियो ।

खासमा निर्माता जीएम रोशन र निर्देशक कुंदन कुमारले अमिताभ–रेखालाई लिएर एउटा फिल्म बनाउन सुरु गरेका थिए–अपने–पराये । तर केही दिनको सुटिङपछि त्यो फिल्म बन्द भयो ।

पछि अमिताभ बच्चनको बदलामा संजय खान र रेखा राखेर उक्त फिल्म ‘दुनियाँ का मेला’ नाममा बन्यो र सन् १९७४ मा प्रदर्शन भएर फ्लप हुन पुग्यो ।

रेखा र अमिताभ सन् १९७३ मा फिल्म ‘नमक हराम’मा एक साथ आए । तर यो फिल्ममा रेखा, अमिताभको नभै राजेश खन्नाकी नायिका बनेकी थिइन् । त्यसैले अमिताभ–रेखाबीच खास कुराकानी हुन पाएन । त्यसबेलासम्म अमिताभ–रेखा एक अर्कासँग अनजान नै थिए ।

अमिताभ बच्चन र रेखाको जिन्दगीमा ठूलो मोड तब आयो जब सन् १९७६ मा निर्माता टीटू र निर्देशक दुलाल गुहाले यी दुईलाई आफ्नो फिल्म ‘दो अनजाने’ अनुबन्ध गरे ।

रमाइलो कुरा यो फिल्मका नायक नायिकाको नाम पनि अमित र रेखा नै थियो । यो फिल्ममा रेखा नै नायिका थिइन् तर उनको भूमिका नकारात्मक किसिमको थियो ।

रेखा त्यसअघि आफ्नो फिल्ममा त्यति गम्भीर थिइनन् । उनी हाँसो ठट्टाको शैलीमा काम गर्थिन् । दुवैजना फिल्ममा काम गर्न सन् १९६९ मा मुम्बइ पुगेका थिए । तर रेखाले त्यसअघि नै बाल कलाकारका रूपमा फिल्ममा काम गरिसकेकी थिइन् ।

सन् १९७० मा आएको उनको पहिलो फिल्म ‘सावन भादो’बाट रेखा हिट भइसकेकी थिइन् । ‘सावन भादो’ पछि ‘दो अनजाने’, ‘एक बेचारा’, ‘रामपुर का लक्ष्मण’, ‘कहानी किस्मत की’, ‘अनोखी अदा’, ‘धर्मा’, ‘धर्मात्मा’, ‘धर्म कर्म’, ‘कहते हैं मुझको राजा’, ‘प्राण जाए पर वचन ना जाए’ र ‘सन्तान’ जस्ता फिल्मबाट उनी लोकप्रिय भइसकेकी थिइन् ।

‘दो अनजाने’ मा अमिताभसँग खेल्ने भनेपछि एक टिभी शोमा आफूलाई अमिताभसँग फिल्म खेल्न अलिकति डर लागेको प्रतिक्रिया उनले दिएकी थिइन् ।

आफू केही मामिलामा अमितभन्दा वरिष्ठ भए पनि अमित दिवार फिल्ममा खुब सफल भएको सन्दर्भमा उनले त्यसो भनेकी थिइन् ।

‘दो अनजाने’ को सुटिङमा अमिताभको काम गर्ने तरिका देखेर रेखा प्रभावित भएकी थिइन् ।

अमिताभको अभिनय कौशल, अनुशासन, विनम्र व्यवहार र आफ्नो कामप्रति समर्पण भाव देखेर रेखा प्रभावित भएकी थिइन् । यति प्रभावित कि अमिताभका प्रति उनको भावना प्रेममा बदलियो ।

अमिताभसँग प्रभावित भएका बेला रेखा २२ वर्षकी थिइन् त अमिताभ ३४ वर्षका थिए । त्यो उमेरमा त्यस्तो परिस्थितिमा त्यस्तो भावनामा अरू मानिस भए पनि त्यसो हुन सम्भव थियो ।

एकपटक एक नामी नायक प्रदीप कुमारले भनेका थिए, ‘आखिर हामी पनि मानिस हौँ । फिल्म सुटिङको दौरान यदि नायक–नायिका एक–अर्कालाई मन पराउँछन् र एक अर्कालाई इज्जत गर्छन् भने फिल्मी दृश्यमा उनीहरू भावुक भइहाल्छन् र त्यही नै प्रेममा बदलिन सक्छ ।’

अमिताभ रेखाको यो प्रेम कहानीमा पनि त्यस्तै संकेत मिल्छ । यसको सुरुवात रेखाबाट भयो तर अमिताभ पनि आफ्नो युवा अवस्थामा उनको मोहबाट बच्न सकेनन् ।

संयोगवश अमिताभ बच्चनसँग ‘दो अनजाने’ फिल्म प्रदर्शन भएपछि नै उनको घरमा दुबैको भेट भएको थियो । अमिताभ रेखाको फिल्म करिअर शिखरमा चढ्दै गर्दा अखबारहरूमा उनीहरूबीचको प्रेम सम्बन्धबारे खबर छापिने गरेका थिए ।

यसैबीच ‘सिलसिला’ फिल्ममा जया, अमित र रेखासँग मुम्बइको एउटा होटेलमा भेट भयो । अमिताभ–रेखाको प्रेम सम्बन्धी खबरको सिलसिला फिल्म ‘सिलसिला’ रिलिज भएपछि विस्तारै विस्तारै कम हुँदै गयो ।

केही वर्षपछि रेखाले एक उद्योगपति मुकेश गुप्तासँग मार्च १९९० मा बिहे गरिन् । तर बिहेपछि मुकेशले आत्महत्या गरे । त्यसबाट रेखामाथि कैयौँ प्रकारका आरोप लागे ।

मुकेशको मृत्युपछि पनि रेखा आफ्नो सिउँदोमा सिन्दुर लगाएर प्रकट भएपछि अमिताभ–रेखाको प्रेम प्रसङ्गका समाचार फेरि बन्न थाले ।

फिल्म सिलसिला प्रेमिका, पत्नी र युवकबीचको प्रेमकथामा आधारित थियो । सिलसिलापछि रेखाले करिब ८० फिल्म खेलेकी छन् र अमिताभले १५० फिल्म खेलेका छन् ।

‘सिलसिला’ले उनीहरूबीचको प्रेम कहानीको सिलसिला टुटाइदियो । अमिताभले भने रेखासँग प्रेम सम्बन्ध रहेको कहिल्यै स्वीकार गरेनन् । जबकी रेखाले विभिन्न मन्चमा कहिले ठट्टा गर्दै त कहिले गम्भीर रूपमा आफ्नो सम्बन्ध जाहेर गर्दै आएकी छन् ।

पछिल्लो करिब ४२ वर्षदेखि उनले सिउँदोमा सिन्दुर र गलामा मङ्गल सूत्र लगाउँदै आएकी छन् । अमिताभले अब रेखासँग कुनै फिल्म नगर्ने भन्ने थाहा पाएपछि आफूलाई अमिताभले दिएका दुई औँठी फिर्ता दिएको रेखाले स्टारडस्ट पत्रिकालाई बताएकी थिइन् ।

रेखाले फिल्म समारोहमा जया बच्चनसँग अनि अभिषेक र ऐश्वर्यासँग भेट्छिन तर अमिताभको नजिक पुग्दा पुग्दै अमिताभ यता उता लागिहाल्छन् ।