नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकाले सहयोग गर्ने


काठमाडौँ – नेपाली सेनाको प्राविधिक तथा सांगठनिक क्षमता विस्तार गर्न अमेरीकाले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  बुधबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनले रक्षामन्त्री पोखरेलसंगको भेटमा नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग गर्ने बताए ।

सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’(राज्य साझेदारी कार्यक्रम) सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिइएको बताए ।
नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालीम अत्यन्त प्रभावकारी छ भन्दै उनले विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको दावी गरे ।

डेपुटी कमाण्डर फेन्टनले विगतदेखि सैन्य क्षेत्रमा अमेरिकाले पुर्याउँदै आएको सहायतालाई निरन्तरता दिने भन्दै भने, “नेपालको लोकतन्त्रको विकासमा अमेरिका सदैव सहयात्रा गर्न तयार छ ।”

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन् । सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement